इलाम । सूर्योदय नगरपालिका इलामको पहिलो बालमैत्री स्थानीय तह घोषणा भएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ को ५१ वटा र नगरपालिकाले थप गरेको ३ वटा सुचक पुरा गदैै सूर्योदय जिल्लाको पहिलो र प्रदेश १ को तेश्रो बालमैत्री स्थानीय तह घोषणा भएको हो । ५८ औं बाल दिवसको अवसर पारेर नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त र बालश्रममुक्त नगर घोषणा गरिएको थियो ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सूर्योदयलाई बालमैत्री पालिका घोषणा गरे । उनले बालबालिका संरक्षणको भूमिका राज्यको भएको बताए । बालबालिकाको समुन्नति र समृद्धि नै देश विकासको आधार रहेको उनले बताए । उनले नेपालको संविधानले समाजवादतर्फ अघि बढ्ने उल्लेख गरेको बताए । यसका लागि बालबालिकालाई सानैदेखि समाजवादका बारेमा अध्ययन गराउनुपर्ने पनि बताए । ’

‘२०६२÷०६३ को आन्दोलन देशको ठूलो क्रान्ति । त्यसपछि बनेको संविधान समाजवाद उन्मुख छ । त्यसका लागि समाजवादी संस्कार र संस्कृतिको विकास गर्न जरुरी छ,’ उनले भने,’ यो विषयमा गहन ढंगले अध्ययन गराउँदै बालबालिकालाई शिक्षित गर्नुपर्छ।’ बालबालिकालाई कुनै पनि प्रकारको यातना दिन नहुने बताए । यतनाले बालबालिकाको मानसिकतामा दीर्घकालीन असर पर्ने खनालको भनाइ छ ।
बालमैत्री स्थानीय शासन घोषणा गर्दै सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले दिगो विकासका लक्ष्य पूरा गर्न अघि बढेको बताए । उनले दिगो विकासका लागि बालमैत्री स्थानीय शासन महत्त्वपूर्ण भएको बताए । ’एक वर्षको समृद्धिका लागि खेती गर्नुहोस् । दश वर्षको समृद्धि चहानुहुन्छ भने रूख रोप्नुस् । सय वर्षको समृद्धिका लागि बालबालिकाको संरक्षण गर्नुस्,’ उनले भने,’बालमैत्री स्थानीय शासन घोषणा गर्न १८ महिनादेखि मिहिनेत गरेका छौँ । ५१ वटा राष्ट्रिय सूचक सँगै नगरपालिकाका ३ सूचक पूरा गरेर घोषणा गरेका हौँ ।’

उनले सडक र भवन निर्माण मात्र विकास नभएको बताए । उनले सबैको सर्वाङ्गिण विकास मात्र विकास भएको बताए । उनले दिगो विकासका सबै लक्ष्य पूरा गरे मात्र विकासको बाटोमा अघि बढ्न सकिने बताए । ’भाइबहिनीहरूले बालमैत्री स्थानीय शासन छ कि छैन ? भवनहरू बालमैत्री बनेको छ कि छैन भन्ने विषयमा आवाज उठाउनुपर्छ,’ उनले भने, ’ बालबालिकालाई गर्ने व्यवहारमा परिवर्तन गर्नुपर्छ । यो कार्यक्रम गरेर मात्र सीमित राख्नु हुँदैन । सबैले बुझिदिनुपर्छ ।’ कसैले बालबालिकाको अधिकार हनन् गर्यो भने नगरपालिका चुप नबस्ने बताए । उनले सबै प्रकारका विभेदविरुद्ध योजनाबद्ध ढंगले अघि बढ्ने बताए ।

उनले सूर्योदय नगरपालिकाको पहिचान हुने गरी स्थानीय पाठ्यक्रम निर्माण गरिएको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइली, इलाम नगर प्रमुख केदार थापा, सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाबहादुर गुरुङ, राष्ट्रिय बालअधिकार परिषदका समन्वय अधिकारी सुमन अधिकारी, सूर्योदय नगर बालसञ्जालकी अध्यक्ष सुम्निमा राई, सदस्य रिन्छेन तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सूर्योदय नगरपालिका क्षेत्र भित्रका एसईई र कक्षा ८ को परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयहरुलाई सम्मान समेत गरिएको थियो । सोही कार्यक्रममा बालमैत्री पालिका निर्माणमा सहयोग गर्ने व्यक्ति र संस्थाहरुलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रमका अध्यक्ष सूर्योदय नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले जातीय झाँकी प्रदर्शन गरेका थिए ।
