सन्दकपूर । सन्दकपूर २ मा अवस्थित टोड्के झरना अवलोकनमा पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । सन्दकपूर गाउँपालिका र प्रदेश १ सरकारले पर्यटन पूर्वाधारसँगै सडक निर्माण गरेपछि झरना पुग्ने पर्यटकको संख्यामा वृद्धि आएको सन्दकपूर २ का वडाध्यक्ष सनम राईले बताए ।

टोड्के झरना सन्दकपूर गाउँपालिका २ मा अवस्थित सुन्दर झरना हो । अग्लो भिरबाट पानि खसेको रोमान्चित दृश्यमा रमाउन अहिले यो झरनामा पर्यटक आउने क्रम बढेको छ । सन्दकपूर गाउँपालिका भित्रका धेरै झरनाहरुमध्येको टोड्के झरना इलामको सबैभन्दा अग्लो झरना हो । झरनामा अहिले नेपाल, भारतको कलकत्ता र तेस्रो मुलकको पर्यटक पनि पुग्न थालेको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताए ।

२ सय ८० फिट अग्लो माईमझुवाको टोड्के झर्ना १० वर्ष अघि नेपालको दोस्रो अग्लो झरनामा सुचिकृत भएको थियो । झरना पुग्ने सडक, पदमार्ग र पर्यटन पूर्वाधार निर्माण गरिएपछि पर्यटकहरु पुग्ने क्रम बढेको हो ।

टोड्के झरनाको फेदीमा पुगेपछि झरनाको पानीमा देखिने सप्तरङ्गि इन्द्रेणिको मनमोहक दृश्यमा पनि रमाउन सकिन्छ । झरना क्षेत्रको पूर्वाधार निर्माणका लागि प्राकृतिक भु–वनोट संरक्षण गरि पूर्वाधार निर्माण गर्ने योजना रहेको गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले बताए ।

नेपाल र भारतमा पनि प्रचारप्रसारका काम गरिएकाले अहिले पर्यटकीय सिजनमा धेरै पर्यटन टोड्ने झरना पुग्ने गरेका छन् । झरनाको प्रचारप्रसार र पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले क्रमागत रुपमा बजेट विनियोजन गरेको पर्यटन तथा सस्कृति मन्त्री खिनु लङ्वा लिम्बुले बताइन् ।

सन्दकपुर वडा नम्बर २ मा रहेको टोड्के झर्नाको रोमाञ्चित दृश्य सन्दकपूर ४ माबुको सायङ्बाबाट पनि उत्तिकै मञ्जाले अवलोकन गर्न सकिन्छ । टोड्के झरना पुग्ने सडक र पर्यटन पदमार्ग निर्माण आन्तरिक पर्यटक आवतजावत बढ्दै गएको छ । अशोज, कात्तिक, चैत्र र बैशाख महिनामा धेरै पर्यटकहरु टोड्के झरना पुग्ने गरेको सन्दकपूर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।



