Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

२८ बर्षदेखी इलामका मतदाताको माग उही सडक, पुल, बिद्युत र खानेपानी

२८ बर्षदेखी इलामका मतदाताको माग उही सडक, पुल, बिद्युत र खानेपानी

  • नमीन ढकाल
  • सोमबार, मंसिर १८ २०७४


२८ बर्षदेखी इलामका मतदाताको माग उही सडक, पुल, बिद्युत र खानेपानी

इलाम, । माइ नगरपालिका–८ महमाईका चन्द्र् तामाङले २०४६ पछिका सवै निर्वाचनमा मत हाले तर, उनलाई चुनावका बेला उम्मेदवारले ल्याएर आउने नाराचाहिँ कहिल्यै नयाँ लाग्दैन । प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा जितेर जाने नेताले गाउँमा के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ? भन्ने जिज्ञासामा उनले उही पुरानो माग दोहोर्याए सडक, पुल, खानेपानी र बिजुली । स्थानीय र संसदीय निर्वाचनमा दलहरूले ल्याउने एजेन्डा पनि यी विषयभन्दा फरक खासै छैनन् । तर, दलहरूले आफ्नो प्रतिबद्धता पूरा गर्न नसक्दा सर्वसाधारण वर्षाैंदेखि तिनै पुराना माग दोहोर्याउन बाध्य छन् ।

सुगम जिल्लाको रुपमा परिचित इलामका ग्रामिण क्षेत्रहरुमा सडक नहुँदा सर्वसाधारणलाई वर्खाको समयमा आवतजावतमा समस्या पर्ने गरेको छ । हिँउदभर मुस्किलले ल्यान्डरोभरसम्म चल्ने कच्ची सडक वर्षा याममा पूरै ठप्प हुन्छन् । वर्षामा सर्वसाधारणले सदरमुकाम आउजाउ गर्न दुईचार दिन लगाउनुपर्छ ।

झापासंग सिमाना जोडिएको माइ नगरपालिकाको दानावारी र महमाई विचमा पर्ने माइखोलामा पुल नहुँदा डुङगाको सहारा लिनुपर्छ । गत बर्ष दशैको समयमा डुङगा डुव्दा ८ जनाले ज्यान गुमाए । त्यसै गरी भारतसंग सिमाना जोडिएको रोङ गाँउपालिकाको जिर्मले, सलकपुर क्षेत्रमा अझै भारतिय फोनको भरपर्नुको विकल्प छैन । सडकको अवस्था राम्रो नहुँदा त्यस क्षेत्रका कृषि उत्पादनले अपेक्षा गरे अनुसारको बजार पाउन नसकेको स्थानिय गणेश अर्याल बताउँछन ।

सडक, पुल विद्युत जस्ता अत्यावश्यक पुर्वाधार नहुँदा इलामको पश्चिमी माङसेवुङ गाँउपालिका बर्खाको समयमा टापु जस्तै हुन्छ । झापाको दमकसंग निकट रहेपनि वर्खाको समय सडक र पुल नहुँदा अत्यावश्यक सामाग्री एवम कृषि उत्पादन खरिद विक्रीमा समस्या हुने गरेको गाँउपालिका अध्यक्ष डिकेन्द्र इधिङगो बताउँछन । मुस्किलले केही क्षेत्रमा विद्युत पुगेपनि अधिकाँश क्षेत्रमा सोलार र पेल्ट्रिक सेटबाट बत्ती बाल्ने गरिएको छ ।

पर्याप्त खानेपानी नहुँदा जिल्लाका अधिकांश क्षेत्रका बासिन्दाहरु खोला खोल्सी धाउन बाध्य छन । खानेपानीको मुहान नजिकै नहुँदा टाढाबाट बोकर विद्यार्थीहरुलाई पानी खुवाउनु पर्ने वाध्यता रहेको माइ नगरपालिका–१ को चन्द्रसुर्य आधारभुत विद्यालयका प्रधानाध्यापक ढगेन्द्र मगर बताउँछन । ‘एक जना विद्यार्थीलाई दिनमा आधा लिटर पानी दिन समेत समस्या छ’ मगरले भने

इलामलाई सुगम जिल्लाका रूपमा बुझ्नेको संख्या धेरै हुनसक्छ तर स्थानीयले भोग्नुपरेको दुःख भने दलका नेताले कहिल्यै नबुझेको मतदाताहरु बताउँछन् । ‘पार्टीमात्रै धेरै भए । विकास गर्नेखालको पार्टी आवश्यक छ । जसले खानेपानी, बिजुली, बाटोे टोलमा पुर्याउँछ, उसैलाई भोट दिने धारणा बनाएको माइजोगमाईकी संगिता थामीले बताइन ।

प्रतिक्रिया
सम्बन्धित समाचार