रोङ । इलामको रोङ गाउँपालिका २ को तीन तले झरना पर्यटकीय संभावना भएको क्षेत्र हो । हिउँदमा सिचाईका लागि प्रयोग हुने भएकाले झरनामा कमै मात्रामा पानी हुन्छ । तीन वटा तल्ला भएर झरनामा पानी बग्ने भएकाले तीन तले झरना नामाकरण गरिएको हो ।

जेठबाट असोजसम्म झरनामा पानी पर्याप्त हुने गरेको छ । झरनामा पानी भएकाले आन्तरिक पर्यटकहरुको भिड लाग्न थालेपछि गाउँपालिकाले यहाँ पर्यटकीय पूर्वाधार निर्माण गरेको गाउँपालिका अध्यक्ष सुवास तामाङले बताए । तीनछागे झरनामा झापा जिल्लाबाट बढी मात्रामा पर्यटकहरु आउने गरेका छन् । पर्यटकीय संभावना भएको क्षेत्र तीन छाँगे झरना वरिपरि अहिले पर्यटकीय पूर्वाधार निर्माणको काम पनि गरिएको गाउँपालिका उपाध्यक्ष बिष्णुमाया भुजेलले बताइन् । स्थानीय तहको प्रथम कार्याकालमा रोङ गाउँपालिकाले झरनालाई पर्यटकीय संभावनाको पहिचान गरि पूर्वाधार निर्माण गरेको रोङ गाउँपालिका पूर्व अध्यक्ष समसेर राईले बताए ।


