इलाम : ९ औ राष्ट्रिय खेलकुदका लागि इलाममा खेलाडी छनौटलाई तिव्रता दिइएको छ । जिल्ला खेलकुद विकास समितिले इलामका विभिन्न स्थानमा छनौट प्रतियोगिता आयोजना गरिरहेको छ । प्रदेश स्तरिय छनौटका लागि समितिले इलाम बजार, करफोक र चुलाचुलीमा विविध खेलका खेलाडीहरुको छनौटलाई अघि बढाएका छन् ।

राष्ट्रिय खेलकुदका लागि आगामी ७ गतेसम्म खेलाडी छनौट सम्पन्न गरिसक्नुपर्ने निर्देशन अनुसार समितिले १६ वटा विविध खेलको छनौट गरिरहेको अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए । इलाम सदरमुकाममा व्याडमिन्टन, बुद्धिचाल, टेबलटेनिस, क्रिकेट, बाँस्केटबल, जुडो, भारात्तोलन, तेक्वान्दो, कराते, कब्बडी, उशु, बक्सिङ, फुटबल र भलिबल हुनेछन् । त्यसैगरी चुलाचुलीमा रग्बी र करफोकमा एथ्लेटिक्सको छनौट गरिने जनाइएको छ ।

समिति आइतबार एथ्लेटिक्स, रग्बी, ब्याडमिन्टन र फुटबलको छनौट गरेको छ । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भनेर इलाममा १ हजार ३ सय भन्दा बढी खेलाडीले नाम दर्ता गराएका थिए । जिल्ला खेलकुद विकास समितिका अनुसार इलामबाट प्रदेश छनौटका लागि विभिन्न खेलका लागि १ हजार ३ सय ३९ जनाले खेलाडी फाराम दर्ता गराएका हुन् ।

खुल्ला सहभागिता गराएको कारण यस बर्ष छनौटमा खेलाडीको चाप उच्च देखिएको अध्यक्ष बाँस्तोलाले बताए । उनले तोकिएको समयमा नै इलामबाट खेलाडी छनौट सम्पन्न गर्ने तयारी भएको बताए ।



