Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलाम समृद्धिको योजना सहित जनप्रतिनिधि काठमाण्डौमा

इलाम समृद्धिको योजना सहित जनप्रतिनिधि काठमाण्डौमा

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र ४ २०७९


इलाम समृद्धिको योजना सहित जनप्रतिनिधि काठमाण्डौमा

इलाम : इलाम नगरपालिकाका जनप्रतिनिधिहरुले विभिन्न विकास र समृद्धिको योजना सहित काठमाण्डौमा भेटघाटका कार्य तिव्र बनाएका छन् । नगर प्रमुख केदार थापाको नेतृत्वमा उपप्रमुख विष्णु लिम्बु दाहाल सहितको टोलीले इलाम विकासका योजना, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा मन्त्री, सांसद एवम काठमाण्डौमा रहेका इलामेहरुसंग छलफलको कार्य अघि बढाएको हो । इलाम नगरपालिकाका जनप्रतिनिधिसंगै छिमेकी पालिका रोङ र माईजोगमाई गाउँपालिकाका जनप्रतिनिधिहरुले समेत इलाम जिल्ला समृद्धिको योजनामा सहभागिता जनाए ।

विगत जेठबाट बन्द रहेको इलामको सुकिलुम्बा विमानस्थल संचालनका लागि इलामे टोलीले संस्कृति पर्यटन नागरिक उड्ययन मन्त्री जिवनराम श्रेष्ठसंग अन्तरक्रिया गरेका छन् । मन्त्री निवासमा एयरर्पोट व्यवस्थापन एवम इलामको पर्यटन प्रर्वद्धनको बारेमा सकारात्मक छलफल भएको नगर प्रमुख केदार थापाले बताए ।

त्यसैगरी इलाममा थेरापी र मौरीपालन सम्बन्धी अपि इन्टरनेशनल प्रालिसंग समेत इलाम नगरपालिकाले व्यवसायिक साझेदारीको लागि अन्तरक्रिया गरेको छ । प्रालिले इलाममा अपि थेरापी, आधुनिक मौरीपालन (मेडिसनल वि हाइप किपिङ्ग)को तालिम दिने र उत्पादन भएको प्रोडक्टहरु प्रती केजि लाखौमा किनिदिने प्रतिबद्धता दिएको टोलीका सदस्य हरि गुरुङले बताए । चाडै नै २ पक्षविच व्यवसायिक सम्झौता हुने भएको छ ।

स्वास्थ्य क्षेत्रमा कमजोर रहेको इलाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कार्यका लागि समेत इलामका जनप्रतिनिधिहरुले पहल गरेका छन् । नगर प्रमुख सहितको टोलीले प्रमुख राजनीतिक दलका नेता, बुद्धिजिवि, पत्रकार, विज्ञ एवम काठमाण्डौमा रहेको इलामबासीहरु विचमा अन्तरक्रिया गरेको हो ।

इलामका पुराना नेता एवम पुर्व शिक्षामन्त्री कुलबहादुर गुरुङको प्रमुख आतिथ्यतामा नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, कांग्रेस केन्द्रिय सदस्य एवम सांसद सुजता परियार लगायतका नेताहरुसंग थाहा पुस्तकालय हल मिनभवन काठमाडौं अन्तरक्रिया गरेको थियो । इलाम विकास समाजको सयोजनमा भएको थियो ।

कार्यक्रममा संविधानसभा सदस्य नगेन्द्र कुमार कुमाल, प्रदेश सांसद एवम माओवादी केन्द्रका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमण, नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्का, नेपाली कांग्रेस इलामका पुर्व सभापति हिमालय कर्मचार्य, नेपाली कांग्रेस इलामका उपसभापति खगेन्द्र देवान, रोङ गाउँपालिका अध्यक्ष मणीकुमार स्याङ्बो, माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राई, इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठ र वडा नं ९ का वडाध्यक्ष गोपाल चौहान, नेपाल पत्रकार महासंघका पुर्व सभापति विष्णु निष्ठुरी, नेपाल फोटो पत्रकार महासंघ इलामका अध्यक्ष राजेश पराजुली र उपाध्यक्ष हरि गुरुङ लगायतको सहभागिता रहेको थियो ।

इलाम नगरपालिकाका जनप्रतिनिधिहरुले राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन गरेका छन् । नगर प्रमुख केदार थापा, उपप्रमुख विष्णु लिम्बु दाहाल, वडाध्यक्ष लगायतको टोलीले महाविर पुनले स्थापना गरेको केन्द्रको अवलोकन गरेको हो । टोलीले केन्द्रबाट निर्माण भएको बहुउपयोगी उपकरणको अवलोकन गरेको थियो ।

कृषि,स्वास्थ्य,शिक्षामा उपयोगी प्रविधिको इलाममा पनि रुपान्तरण गर्ने र प्राविधिमा इलाम नगरपालिका संग आविष्कार केन्द्रले सहकार्य गर्ने टोलीका सदस्य हरि गुरुङले बताए । इलामको लागि विषेश कफि रोस्टिङ्ग गर्ने मेसिन,प्राङ्गरिक मल बनाउन मेसिन,सेनिटरी प्याड बनाउने मेसिन लगायतको बारेमा चासो व्यक्त भएको जनाइएको छ ।

दुधको प्रोडक्ट खुवा बनाउने, घ्यु पेल्ने, फलफुल,अलैची,अदुवा,खोर्सानी,चिप्स, सुकाउने ड्रायर,चिया सुकाउने ड्रायर,खेतबारी जोत्ने आविष्कार केन्द्रमा बनिएका मेसिनहरु्सभिस वारेन्टीका साथ बजार मूल्य भन्दा आधा मुल्यमा पाइने भएकाले छलफल सकारात्मक भएको गुरुङले बताए ।

नगरपालिकाका जनप्रतिनिधिहरुले नेपाल ओलम्पिक कमिटीसंग खेलकुदको बारेमा समेत छलफल गरेको छ । ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठसंग भेटघाट गरी खेलकुद क्षेत्रको बारेमा समेत छलफल गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार