आगामी भदौ १० गते देखि थाइल्यान्डको बैंककमा गैर आवासीय नेपाली संघ एनआरएन एसिया क्षेत्रीय प्यासिफिक सम्मेलन हुने भएको छ । बैंककको मिलिनियम हिल्टन होटलमा १२ गतेसम्म हुने सम्मेलनमा पर्यटन, ज्ञान, सीप र लगानीमा केन्द्रित हुने बताइएको छ ।
सम्मेलनलाई नेपाल सरकारका श्रममन्त्री शेरबहादुर कुँवर, नेपाली कांग्रेसका महामन्त्री तथा पुर्व स्वास्थमन्त्री गगन कुमार थापा , नेकपा एमाले सांसद डा सूर्य पाठक, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, व्यवसायी राजेन्द्र खेतान चिया व्यापार र बजारीकरण सम्बन्धी इलाम माईजोगमाईका चिया व्यबसायी सुबोध पौडेल लगायतले सम्बोधन गर्ने एशिया क्षेत्रीय संयोजक पारसमणी पोखरेलले जानकारी दिए ।
मिलाप, ‘टुगेदर वी स्ट्याण्ड’ नारासहित आयोजना हुने सम्मेलनमा ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने आयोजकले जानकारी दिएको छ । सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक एनआरएनए थाइल्याण्डले जनाएको छ ।
सम्मेलनमा चीन, म्यानमार, थाइल्याण्ड र मलेसियाका लागि नेपाली राजदूतहरु, व्यवसायी, संचारकर्मी, वर्तमान अध्यक्षहरु तथा पदाधिकारीहरु, पूर्वअध्यक्ष, नेपाल सरकारका उच्च अधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति रहने छ । संघका अध्यक्ष भविन्द्र बस्नेतले सम्मेलनमा भाग लिन जानेहरुले छिटो भन्दा छिटो होटल बुकिङ गर्न आग्रह गरेका छन् ।
नेपालको दोस्रो अन्तराष्ट्रिय विमानस्थल लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले थाइल्याण्डका पर्यटन मन्त्रीलाई नै कार्यक्रममा सहभागी गराउने तयारी रहेको बस्नेतले जानकारी दिए । ५० जनाभन्दा बढी वक्ता रहने सो गैरआवासीय नेपाली संघका मुख्य मुद्दाहरु नेपाली नागरिकताको निरन्तरता, मताधिकारको अधिकार, नेपालमा लगानी तथा महिला र युवाहरुका समस्या र समाधानको विषयमा सम्मेलन केन्द्रीत हुने गैरआवासीय नेपाली संघले जनाएको छ ।
सो सम्मेलनमा बिभिन्न विषयगत विज्ञहरुले आआफ्नो कार्यपत्र समेत प्रस्तुत गर्ने संघले जनाएको छ । सम्मेलनमा नेपालका चर्चित कलाकारहरुले समेत आआफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ ।
कार्यक्रममा स्थानीय कलाकारका अतिरिक्त, नेपालका चर्चित गायक कुमार पुन, हाँस्यकलाकारहरु सन्दिप क्षेत्री, सुमन कोइराला, भरतमणी पौडेल, श्याम सितललगायतको प्रस्तुत रहनेछ समेत आयोजकले जानकारी दिएको छ ।