इलाम । नवौ राष्ट्रिय खेलकुदका लागि जिल्ला क्रिकेट संघ इलामले खेलाडी छनौट कार्यक्रम आयोजना गरेको छ । संघले आगामी शुक्रबार इलामको ५ वटा पालिकालाई लक्षित गरेर झापाको विर्तामोडमा शुक्रबार कार्यक्रम आयोजना गर्न लागेको हो ।
क्रिकेट संघका अध्यक्ष अर्जुन पौडेलका अनुसार सूर्योदय नगरपालिका, माई नगरपालिका, चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र रोङ गाउँपालिकाका क्रिकेट खेलाडीहरुलाई लक्षित गरि विर्तामोडको कन्काई रोडमा रहेको विविएम लेभिन एकेडेमीमा ११ बजेबाट कार्यक्रम आयोजना गर्न लागेको हो । भौगोलिक विकटताका कारण इलाममा सहभागिता जनाउन नपाएका खेलाडीहरुलाई सहजताका लागि विर्तामोड रोजिएको पौडेलले बताए ।
यसअघि इलाम नगरपालिकामा पहिलो चरणको छनौट भएको थियो । इलामको तल्लो क्षेत्रका खेलाडीहरुका अतिरिक्त पहिलो चरणमा छुटेका खेलाडीहरुले समेत सहभागिता जनाउन पाउनेछन् । पौडेलका अनुसार इलामको टुडिखेलमा भएको छनौटबाट छानिएका १४ जना खेलाडीलाई इलाम ग्रीन नाम दिइएको छ ।
शुक्रबारको कार्यक्रमबाट इलाम रेडका खेलाडीहरु छनौट हुनेछन् । छनौटमा परेको दुवै टोलीले कम्तीमा ३ वटा मैत्रीपुर्ण अभ्यास खेलमा प्रतिस्पर्धा गर्नेछन् । भाद्र ३ र ४ मा इलामको ठुलो टुडिखेलमा अन्तिम छनोट खेलहरु हुनेछन । अभ्यास खेलबाट छानिएका खेलाडीहरुलाई प्रर्दशनको आधारमा इलाम टिम बनाइनेछ ।
जिल्ला टिमले प्रदेश स्तरिय छनौटमा सहभागिता जनाउनेछन् । प्रदेशमा समेत छानिएका खेलाडीहरुले प्रदेश नं १ बाट प्रतिनिधित्व गर्दै आगामी असोज २७ गतेबाट पोखरामा हुने ९ औ राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन पाउनेछन् । जिल्ला छनौटमा इलाम भन्दा बाहिरका खेलाडीहरुले सहभागिता जनाउन नपाउने अध्यक्ष पौडेलले बताए ।
