इलाम । इलाम नगरपालिका र रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयबिच छात्रवृत्ति प्रदान गर्न सम्झौता भएको छ । इलाम नगरपालिका र रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालय इलामबिच ३ वर्षे डिप्लोमा तहमा संचालित कार्यक्रमहरु क्रमशः पशु विज्ञान, बाली विज्ञान, वन विज्ञान, सिभिल ईन्जिनियरिङ र फार्मेसी कार्यक्रमका लागि सम्झौता भएको हो ।
चालु आर्थिक वर्ष २०७९÷२०८० ब्याचमा भर्ना हुने २४ जना प्रशिक्षार्थी इलाम नगरपालिकाबाट अनुदान सहयोगबाट छात्रवृत्ति प्रदान गर्नको लागि सम्झौता भएको जनाइएको छ । नगरपालिकाको तर्फबाट नगर प्रमुख केदार थापा र शिक्षालयका कार्यालय प्रमुख दिपक खनालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
इलाम नगरपालिका भित्र बसोबास गर्ने जेहेन्दार साथै आर्थिक अवस्था कमजोर, विपन्न, दलित तथा महिलाहरुलाई पशु विज्ञानमा ५ जना, बाली विज्ञानमा ५ जना, वन विज्ञानमा ५ जना, सिभिल ईन्जिनियरिङमा ५ जना र फार्मेसीमा ४ जना प्रशिक्षार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने नगर प्रमुख केदार थापाले बताए ।
