Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

राष्ट्रिय टोली छाडेर दर्शन र सन्तोष अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टोली छाडेर दर्शन र सन्तोष अष्ट्रेलिया प्रस्थान

  • सन्देश सम्वाददाता
  • सोमबार, असार २० २०७९


राष्ट्रिय टोली छाडेर दर्शन र सन्तोष अष्ट्रेलिया प्रस्थान

इलाम । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर सन्तोष तामाङ र फरवार्ड दर्शन गुरुङ भविष्य सुनिश्चित गर्नका लागि अष्ट्रेलिया गएका छन् । उनीहरु दुवैजना आइतबार अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।एएफसी एसियन कप छनोटको खेलका लागि २३ सदस्यीय नेपाली टोलीमा रहेका दुवै खेलाडी नेपाली फुटबल छाडेर विदेश पलायन भएका हुन् ।

घरेलु फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबका लागि खेल्दै आएका सन्तोष मिडफिल्डमा निकै प्रभावशाली मानिन्छन् । काठमाण्डौका सन्तोषले २०७५ चैत ७ गते कुवेतविरुद्धको मैत्रीपूर्ण खेलको ८१औं मिनेटमा सन्तोषले भरत खवासको स्थान लिँदै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । सन्तोषले नेपालका लागि १६ क्याप जितेका छन् ।

इलामका दर्शनले २०७७ कार्तिक २८ गते बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा परिवर्तित खेलाडीको रुपमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनी ६८औं मिनेटमा रवि शंकर पासवानको स्थानमा मैदान छिरेका थिए । इलामको सन्दकपुर गाउँपालिकाका बासिन्दा दर्शन सहिद स्मारक लिग २०७६ को उदियमान खेलाडी समेत हुन् ।

घरेलु फुटबलमा ‘ए’ डिभिजनको न्यूरोड टिम ९एनआरटी० का कप्तान रहेका दर्शन कुवेतविरुद्ध ४० वर्षपछि गोल गर्ने खेलाडी हुन् । उनले गत महिना एसियन कपको छनोटमा कुवेतविरुद्ध गोल गर्न सफल भएका थियो ।
४० वर्षअघि वाइवी घलेले कुवेतविरुद्ध गोल गरेका थिए । त्यो नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल रहेको थियो । दर्शनले नेपालका लागि ६ क्याप जित्दा १ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

पछिल्लो समय अष्ट्रेलिया नेपाली खेलाडीको गन्तव्य बन्दै आएको छ । यसअघि राष्ट्रिय टोलीकै सदस्य सुमन लामा र आशिष लामा अष्ट्रेलिया पुगिसकेका छन् । मिडफिल्डर हेमन गुरुङ, गोलरक्षक एलन न्यौपाने र जगजित श्रेष्ठसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका बिमल बस्नेत पनि अष्ट्रेलियामै रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार