कन्याम । योगदानमा आधारित सामाजिक सुरक्षा करबारे श्रमीक कल्याण सम्बन्धि सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिंहदरबारको आयोजनामा चिया उद्यमी र मजदूरहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख उप–सचिव डा दिपक काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका उप–सचिव गुरुदक्त सुवेदीले सामाजिक सुरक्षाको ऐन कानुन र सामाजिक सुरक्षा कोषका निर्देशक कृष्ण अधिकारीले योगदानमा आधारित सामाजिक करका बारेमा जानकारी दिएका थिए ।

इलामका चिया उद्योगी र मजदूरहरुको सहभागिता रहेको कार्यक्रममा नेपाल चिया विकास निगममा काम गरेका श्रमीकले न्युनतम ज्याला समेत नपाएको र सामाजिक सुरक्षा कर पनि लागु नभएको बताएका थिए । अन्तरक्रियामा चिया मजदुरु बिष्णु भट्टराई, उमेश रेग्मी लगायतले इलाममा योगदानमा आधारीत सामाजिक सुरक्षा कर लागु नभएको र मन्त्रालयले लागु गराउन पहल गर्नुपर्ने बताए ।

अन्तरक्रियामा चिया उद्यमी अविभन्द गिरि, महेश अर्याल, टि एशोसिएसनका अध्यक्ष उक्तमकुमार श्रेष्ठले चिया क्षेत्रमा योगदानमा आधारीत सामाजिक सुरक्षा कर लागु गर्न उद्यमीका माग पनि राज्यले सम्बोधन गर्नुपर्ने बताए ।
अन्तरक्रियामा सूर्योदय नगर उद्योग बाणिज्य संघका सचिव सुजन तिमसिनाले सामाजिक सुरक्षा कर बारे साना तथा मझौला उद्योगहरुलाई पनि सहभागिता गराउन मन्त्रालयले जिल्लामा हेल्प डेक्स राख्नुपर्ने बताए ।

कार्यक्रममा सहभागिले गरेको प्रश्नको जवाफ दिँदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख उप–सचिव डा दिपक काफ्ले आगामि दिनमा सबैलाई योगदानमा आधारीत सामाजिक सुरक्षा करमा सबैलाई सहभागि गराउन मन्त्रालय तयार रहेको बताए ।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका श्रमीक कल्याण शाखाका किसान न्यौपाने, श्रम तथा रोजगार कार्यालय झापाका मात्रिका कट्टेलको पनि उपस्थिति रहेको थियो ।




