Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

उड्डयन संग्रहालय सबैका लागि खुल्ला

उड्डयन संग्रहालय सबैका लागि खुल्ला

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर ११ २०७४


उड्डयन संग्रहालय सबैका लागि खुल्ला

काठमाडाैँ । राजधानीको सिनामंगलमा सञ्चालित विमान संग्रहालय सोमबारदेखि सर्वसाधरणसहित सबैका लागि खुला गरिएको छ । नागरिक उड्डयन प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले टिकट दर तोकेपछि वेद उप्रेती ट्रस्टद्वारा सञ्चालित संग्रहालय सबैका लागि खुला गरिएको हो ।

कात्तिक १८ गतेदेखि कक्षा ९ देखि १२ का विद्यार्थीका लागि मात्रै खुला गरिएको संग्रहालयले सर्वसाधरणलाई २ सय ५० रुपैयाँको टिकट तोकेको छ भने परिचयपत्रबाहक विद्यार्थी तथा अपाङ्गता भएकाले १ सय २५ रुपैयाँ तिर्नुपर्छ । ५ वर्षसम्मका बालबालिकाको टिकट लाग्दैन । विदेशीले ५ सय रुपैयाँ तिनुपर्छ ।
ट्रस्टका सीईओ वेद उप्रेतीले २१ दिनमा ५० हजारभन्दा बढी विद्यार्थीले संग्रहालय अवलोकन गरेको बताए । नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा ट्रस्टले करिब ७ करोड लगानीमा म्युजियम सञ्चालनमा ल्याएको हो । टर्कीको राजधानी इस्तानबुलबाट काठमाडौंका लागि उडेको टर्किस ध्वजाबाहक यो विमान ०७१ फागुन २० गते अवतरणका क्रममा दुर्घटनामा परेको थियो । आठ महिना मात्रै उडेको एयरबस कम्पनीको ३३०–३०० सिरिजको यो विमान विश्वभर कतै पनि संग्रहालयमा प्रयोगमा छैन ।

अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओे) ले विश्वभर सञ्चालन गर्दै आएको आगामी पुस्ताका नागरिक उड्डयनकर्मी कार्यक्रम  अन्तर्गत यो संग्रहालय सञ्चालन गरिएकाले माध्यमिक र उच्च माध्यमिक तहका विद्यार्थीहरूका लागि टिकट शुल्क छुट दिइएको छ । विश्वभर हवाई क्षेत्रमा दक्ष जनशक्तिको अभाव भइरहेकाले आइकाओले जारी गरेको आगामी पुस्ता लक्षित कार्यक्रमको मोडलअनुरूप यो संग्रहालय सञ्चालनमा ल्याइएको हो ।

नेपाल पनि अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) को सदस्य राष्ट्र भएकाले प्राधिकरणको सहकार्यमा यो संग्रहालय सञ्चालनमा ल्याइएको हो । नेपाली हवाई उद्योगमा पनि क्याप्टेनरप्रशिक्षक पाइलटलगायतका हवाई प्राविधिकको अभाव छ । ट्रस्टलाई प्राधिकरणले सिनामंगलमा आफ्नो स्वामित्वमा रहेको ८ हजार वर्गमिटर जग्गा १० वर्षका लागि भाडामा उपलब्ध गराएको छ । त्यसको भाडा प्रतिमहिना प्रतिवर्गमिटर ६ सय रुपैयाँ तोकिएको छ । यसबाहेक ट्रस्टले प्राधिकरणलाई आन्तरिक पर्यटकहरूको टिकटबाट पनि थप दस्तुर तिर्नुपर्नेछ । उप्रेतीको यो संग्रहालय दोस्रो हो । उनले तीन वर्षअघि कैलालीको धनगढीमा डेढ करोड रुपैयाँ लगानीमा एयरक्राफ्ट म्युजियम स्थापना गरिसकेका छन् । उनले त्यहाँ बन्द भएको कस्मिक एयरको १ सय १० सिट क्षमताको फोकर विमानलाई लगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार