इलाम । इलामको सूर्योदय नगरपालिकाको कार्यपालिका निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार बिजयी भएको छ । भरखरै सम्पन्न मतपरिणाम अनुसार कार्यपालिका सदस्य ८ जना नेकपा एमाले–नेकपा एस उम्मेदवार बिजयी भएका छन् । महिला सदस्यमा एमालेकी केशर कुमारी पौडेल, चन्द्रकला परियार, सावित्रा शिवा बिजयी भएका छन् । उनीहरुले ३८ मत प्राप्त गरे ।
नेकपा एसका लतादेवी गौतम अधिकारी र लामु शेर्पाले समेत ३८ मत पाए । नेपाली कांग्रेसका ख्यामकुमारी घले, चन्द्रकला मैनाली भुजेल, टिकाकुमारी गौतम कट्टेल, शर्मिला विश्वकर्मा र सुकु योल्मूले समान ३४ मत पाए । दलित वा अल्पसंख्यकमा नेकपा एसका चित्रकला बराइली र नेकपा एमालेका उम्मेदवार ख्याम भुजेल ३८ मतका साथ बिजयी भए ।
कांग्रेसका एक जना मतदाताले फ्लोरक्रस गरेपछि नेकपा एसका सोनाम छिरिङ लामाले ३९ मत प्राप्त गर्दै बिजयी बने । नेपाली कांग्रेसका यमन लामा र राजु राईले समान ३२ मत प्राप्त गर्दा सोनामछिरिङ काजी लेप्चाले ३३ मत प्राप्त गरे । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको नगरमा गठबन्धन तोड्दै नेकपा एसले एमालेसँग मिलेर कार्यपालिका चुनाव लडेको थियो ।
१४ वडा रहेको सूर्योदयमा नेपाली कांग्रेसका नगर उपप्रमुखसहित ३४ जना जनप्रतिनिधि थिए । नेकपा एसको नगर प्रमुखसहित २० जना र एमालेका १८ जना जनप्रतिनिधि रहेका थिए । मतगणनाका क्रममा मतदानस्थलमा रहेको सिसी क्यामेरा खुल्ला राखेर नै मतदान कार्य अघि बढाइएपछि कांग्रेसले पुनः मतगणनाको माग राखेको थियो । छलफल मार्फत विवाद समाधान पछि मतदान कार्य सुचारु भएको थियो ।