इलाम : इलामका बरिष्ठ कराते प्रशिक्षक योग बहादुर राई (योगेश चाम्लिङ) लाई दिर्घ सेवा पदकले सम्मान गरिएको छ । २५ बर्षभन्दा लामो समय कराते प्रशिक्षकको रुपमा कार्यरत रहेपछि राष्ट्रिय खेलकुद परिषदले चाम्लिङलाई दिर्घ सेवा पदक दिएको हो ।
२०७८ सालमा नै सेवा अवधि पुरा भएपनि प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा धनकुटाको भेडेटारमा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनलाई प्रदेशका सामाजिक विकास मन्त्री राजन राईले पदक प्रदान गरे । भोलेन्टियर प्रशिक्षकको रुपमा सेवा गरेका चाम्लिङ नायब सुब्बा पदकबाट प्रवेश गरेर अहिले अधिकृत तहको बरिष्ठ प्रशिक्षकको रुपमा कार्यरत छन् ।
अन्तराष्ट्रिय रेफ्री समेत रहेका चाम्लिङले जिल्लाको विभिन्न स्थानमा डोजो संचालनका लागि पहल गरेका थिए ।उनको पहलमा इलामका खेलाडीहरु दुवईमा कराते प्रशिक्षकको रुपमा कार्यरत समेत रहेका छन् । इलामको रोङ गाउँपालिकाका उनले जिल्ला कराते संघको अध्यक्षको समेत पद सम्हालि सकेका छन् ।