इलाम । विगत लामो समय देखि आन्दोलनरत इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पस (मरब) मा हर्टिकल्चर (बागवानी) अध्ययनरत विद्यार्थीको माग सुनवाइ भएको छ । लोकसेवा आयोगले लिने कृषिका परिक्षामा सहभागि हुन पाउनुपर्ने विद्यार्थीहरुको माग त्रिभुवन विश्वविद्यालय विद्यापरिषद बैठकबाट पुरा भएको हो । अब हर्टिकल्चरका विद्यार्थीहरुले पाँच वटा विषयमा लोकसेवा परीक्षा दिन पाउने भएका छन् ।
हर्टिकल्चरमा स्नातक विद्यार्थीलाई हर्टिकल्चरसहित माटो विज्ञान, कृषि प्रसार, बाली संरक्षण र बाली विज्ञानमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको हो । कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले गरेको सिफारिसअनुसार त्रिभुवन विश्वविद्यालय विद्यापरिषद बैठकले हर्टिकल्चरसहित पाँच विषयलाई कृषि स्नातक विषयसरह मान्यता दिने निर्णय गरेको थियो ।
लोकसेवा आयोगले लिने कृषिका विभिन्न बिषयमा क्रेडिट आवर पुग्दा पनि समावेश हुन नपाउने भएपछि महेन्द्ररत्न बहुमुखी क्याम्पसका विद्यार्थीहरुले पटक पटक क्याम्पस मार्फत प्रदेश सरकार र लोकसेवा आयोगको ध्यानाकर्षण गराएका थिए । पाठ्यक्रम विकास केन्द्रले यी विषयहरूको छुट्टै समकक्षता गरिरहनु नपर्ने लेखी पठाएको हो ।
योसँगै ‘राजपत्र अंकित तृतीय श्रेणी अर्थात् अधिकृत वा सोसरहको पदमा हर्टिकल्चरका विद्यार्थीले प्रतिस्पर्धा गर्न पाउनेछन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थाद्वारा मान्यताप्राप्त महेन्द्ररत्न बहुमुखी क्याम्पसमा विगत ७ बर्ष देखि हर्टिकल्चर बिषयको अध्यापन हुँदै आएको थियो ।
मरब क्याम्पसमा हाल अध्ययनरत ७५ र पास भएका गएका गरि २३० जना विद्यार्थीहरु रहेको वागवानी संघर्ष समितिकी सचिव महिमा गौतमले बताइन् । उनले राखिएको मध्ये एउटा माग पुरा भएको बताइन् । ‘ लोकसेवामा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग चाहि पुरा भएको छ । अब मापदण्ड पुगेका विषयहरूमा कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट एमएस्सी एग्रीकल्चर पढ्न पाउनुपर्ने माग चाहि अझै पुरा भएको छैन् ।’ गौतमले भनिन् ‘ चाडै नै माग पुरा हुनेमा आशावादी छौ ।’
