काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ। मतदाताहरु बिहान ६ बजेदेखि नै मतदान केन्द्रमा लामबद्ध भएको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले जानकारी दिए।
निर्वाचन आयोगलाई प्राप्त रिपोर्टिङमा अधिकांश जिल्लाहरुमा बिहान ६ बजेदेखि नै मतदाता लामबद्ध भएको डा। यादवले जानकारी दिए। उनले भने, ‘मतपेटिका तयार राखिसकिएका थिए बिहानै, संयुक्त निर्वाचन परिचालन केन्द्रमा प्राप्त जानकारी अनुसार मतदाता लामबद्ध भएका छन्।’
पहिलो चरण अन्तर्गत आज प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो। मुलुकभरमा प्रतिनिधिसभाका कुल १६५ र प्रदेशसभाका ३३० निर्वाचन क्षेत्र छन्। बाँकी ४५ जिल्लामा यही मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन हुनेछ।