Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पहिलो चरणको निर्वाचन आज, बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान

पहिलो चरणको निर्वाचन आज, बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर १० २०७४


पहिलो चरणको निर्वाचन आज, बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको पहिलो चरणमा आज हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा मतदान हुँदैछ। प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७२ निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो। मुलुकभरमा प्रतिनिधिसभाका कुल १६५ र प्रदेशसभाका ३३० निर्वाचन क्षेत्र छन्। बाँकी ४५ जिल्लामा यही मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन हुनेछ।

तोकिएको मतदान केन्द्रमा बिहान ७ बजेदेखि सुरु हुने मतदान साँझ ५ बजेसम्म जारी रहनेछ। पहिलो चरणमा कुल ३१ लख ९१ हजार ९४५ मतदाता छन्। मतदानका लागि २ हजार ९१९ मतदान स्थल र ४ हजार ४६५ मतदान केन्द्र तोकिएका छन्। पहिलो चरणमा ३७ प्रतिनिधिसभा सदस्यका लागि २८२ पुरुष र १६ महिलासहित २९८ तथा ७२ प्रदेशसभा सदस्यका लागि ४२० पुरुष र २० महिला गरी ४४० उम्मेदवार चुनावी मैदानमा छन्।

संघीय संरचनाअनुसार हुन लागेको यो पहिलो निर्वाचन हो। संविधानसभाबाट जारी भएको संविधानले मुलुकलाई संघीय संरचनामा लगेको थियो। यो निर्वाचनलाई संविधान कार्यान्वयनको मुख्य खुड्किलो मानिएको छ।

मतदान गर्न काठमाडौंबाट जिल्ला फर्किए आठ लाख सर्वसाधारण
पहिलो चरण अन्र्तगत आइतबार ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट ८ लाख मानिस बाहिरिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार दुई सातादेखि बाहिरिने क्रम बढेको छ। ‘हिमाली र उच्च पहाडी ३२ जिल्लामा हुने निर्वाचनमा मतदान गर्न दुई हप्तादेखि जिल्ला फर्किनेहरुको क्रम बढेको छ, करिब ८ लाख त फर्किसके,’ उनले भने।

विकट जिल्लाहरूमा पुग्न लामो समय लाग्ने भएकाले पनि मतदान हुनुभन्दा धेरै पहिलेदेखि नै जाने क्रम बढेको यातायात व्यवसायीहरूको भनाइ छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो हप्ता (आइतबारदेखि शनिबार बेलुकीसम्ममा) ३ लाख मानिस बाहिरिएका छन्। महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीका अनुसार पछिल्ला २–३ दिनदेखि काठमाडौंबाट बाहिरिने टाढा पुग्ने मतदाता नभई नजिकका जिल्ला जानेहरू हुन्।

विशेषगरी दोलखा, सिन्धुपाल्चोक, रामेछाप, गोरखा, रसुवा, धादिङ, नुवाकोटका मतदाता एक दिनमै पुग्ने भएकाले अन्तिम समयमा गएको उनको भनाइ छ। पार्टी कार्यकर्तादेखि विद्यार्थीसम्म बाहिरिए मतदानमा भाग लिन घर जानेमा सबैभन्दा धेरै पार्टी कार्यकर्ता छन्। त्यस्तै, काठमाडौंबाट बाहिरिनेमा कर्मचारी, निजी कम्पनीमा काम गर्नेहरू र काठमाडौंमा बसेर अध्ययन गरिरहेका विद्यार्थीको संख्या पनि उल्लेख्य रहेको यातायात व्यवसायीहरू बताउँछन्।

जिल्ला फर्किने धेरैले ‘रिजर्भ’ सवारीसाधन प्रयोग गरेका छन्। कतिपय उम्मेदवारले नै घर फर्कनका लागि सवारीसाधनको व्यवस्था गरेका छन्। प्रायः सबै पार्टीले बस रिजर्भ गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार