इलाम । खस्किएको पर्यटन व्यवसाय उकास्न इलामको सूर्योदय नगरपालिकामा पहिलो पटक माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज आयोजना गरिएको छ । कोरोना माहामारीका कारण पर्यटन धरासायी भएको पर्यटन व्यवसाय उकास्नका लागि प्रतिस्पर्धात्मक माउन्टेन बाइक एडभेञ्चर आयोजना गरिएको हो ।

११ किलोमिटर दुरीमा भएको प्रतिस्पर्धाका प्रथम विजेताले २० हजार रुपैयाँ नगद सहित ट्रफि प्राप्त गरेका छन् । ३० जना प्रतिस्पर्धी मध्ये बसन्त थारुले ३२ मिनेट १० सेकेन्डमा ११ किलोमिटर पारी गरि प्रथम भए ।

दोस्रो हुने बहादूर तामाङले ११ किलोमिटर ३७ मिनेटमा पार गरि १५ हजार रुपैयाँ नगद सहित ट्रफि प्राप्त गरे । प्रतिस्पर्धामा आकाश श्रेष्ठले ३८ मिनेटमा ११ किलोमिटर पार गरे । प्रतिपर्धामा तेस्रो भएका आकाश श्रेष्ठले १० हजार नगद र ट्रफि प्राप्त गरेका छन् । पहिलो पटक आयोजना गरिएको माउन्टेन बाइक एडभेञ्चरमा सहभागि भएका साइकल राइडरले इलाममा साइकल गुडाउने ठाउँ प्रशस्त भएकाले साइकलबाट पर्यटन प्रवद्र्धनको काम गरिने बताएका छन् ।

प्रतिस्पर्धामा ३० वर्ष माथी उमेर समूहका साइकल राइडरलाई सहभागि गराइएको थियो । नेपालको इलाम सहित, झापा, मोरङ, सुनसरी, पाँचथर, काठमाडौ र भारतका साइकल राइडरको सहभागिता रहेको थियो । कोरोनाका कारण थलिएको पर्यटकीय नगरी सूर्योदयको पर्यटक उकास्न माउन्टेन बाइक एडभेञ्चर आयोजना गरिएको आयोजक समितिका अध्यक्ष शरण फोगोले बताए ।

फिक्कल चोक बजारबाट शुरु भएको प्रतियोगिता नयाँ चोक–केराबारी–आले– सहिद चोक– १० नम्बर वडा कार्यालय– फिक्कल रिङ रोड बरबोटे हुँदै फिक्कल चौक बजारमै पुगेर टुङ्गीएको थियो । प्रतिस्पर्धाको उद्घाटन सूर्योदय नगरपालिका १० का अध्यक्ष पेमाउगेन लामाले गरेका थिए ।

प्रतियोगीतामा सहभागी सबैलाई प्रमाणपत्र र ज्येष्ठ सदस्यलाई सम्मान गरिएको छ । सूर्योदय नगरपालिकामा १० वर्षदेखि साइकल कुदाउँदै आएका १० युवाको पहलमा स्वास्थ्यको लागि साइक्लिङ र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज आयोजना गरिएको हो ।
स्वास्थ्यको लागि साइक्लिङमा आकर्षित गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज कार्यक्रमको आयोजना गरिएको आयोजकका सल्लाहकार युवराज बस्नेतले बताए । बस्नेत सूर्योदय क्षेत्रमा साइक्लिङ गर्ने पुराना मध्येका एक हुन् ।

नेपालसँगै भारतबाट समेत साइकल राइडरको सहभागिताले साइक्लिङको आकर्षण बढ्दै गएको आयोजक समितिका अभिषेकप्रताप पौडेलले बताए । ‘पहिले कमै मात्रै सहभागिता हुन्थ्यो, अहिले १०÷१२ त फिक्कलमै साइकल राइडर भएका छन् ’, पौडेलले भने,‘यो कार्यक्रम पछि बढ्दै जान्छ भन्ने आशा छ, आजको सहभागिताले आयोजक समितिलाई उत्साहित बनाएको छ ।’

युवाहरूलाई साइक्लिङमा आकर्षित गर्न सकियो भने कुलतमा फस्ने युवाहरूको संख्यालाई पनि कम गर्न सकिने र खस्किएको पर्यटन व्यवसाय लाई सहयोग पुग्ने आयोजक समितिका सल्लाहाकार योगेन्द्र थापाले बताए । ‘फुर्सद भएर हो युवाहरू कुलतमा फसेको, उनीहरूलाई साइक्लिङमा भुलाउन सकियो भने कुलतमा लाग्नेको संख्या पनि कम हुन्छ र पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्छ । ’, थापाले भने । माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्जमा ३० वर्षदेखि ५६ वर्ष उमेरसम्मका साइकल राइडरको सहभागिता थियो ।

पहिलो पटक भएको प्रतियोगिता सफल बनाउन स्थानीयले आयोजकलाई स्थानीय व्यवसायीहरुले पनि सहयोग गरेका थिए । प्रतिस्पर्धीको लागि ट्रफि मेडल स्थानीय मानबहादुर प्रधानले आफ्नो स्वर्गीय छोरा विशाल प्रधानको स्मृतिमा प्रदान गरेका थिए । त्यस्तै पुरस्कारहरूको लागी पनि स्थानीयले सहयोग गरिरहेको आयोजकका अध्यक्ष शरण फागोले बताए । प्रथम पुरस्कार नेपाली काग्रेसका जिल्ला सभापति डम्बर खड्का, दोस्रो पुरस्कार सोहिला कष्ट्रक्सनका प्रोपाइटर लोक बहादूर प्रधान, तेस्रो पुरस्कार रासि नेपाली काग्रेस सूर्योेदय नगरपालिका उप–सभापति निर्मला कट्टेल अग्रवालले सहयोग गरेकी थिइन् । प्रतियोगितामा सहभागि ५६ वर्षिय रकम चाम्लिङलाई मायाको चिनो सूर्योदय नगरपालिकाका इञ्जिनियर कविन सापकोटाले सहयोग गरेका थिए ।

प्रतियोगितामा साइकलको कला (स्टन्ड) धनकुटा भेडेटारका साइकल राइडर किरण याम्फु राइले प्रस्तुत गरेका थिए । पर्यटकीय नगरीको रूपमा परिचित सूर्योदयमा कोरोना महामारीपछि खासै पर्यटकीय गतिविधि हुन नसकेको अवस्थामा साइकलको माध्यमबाट प्रचारप्रसारका काम भएपछि पर्यटन व्यवसाय पनि चलायमान हुने होटल एशोसिएसनका अध्यक्ष अभिसेक श्रेष्ठले बताए ।

प्रतियोगीताले खस्केको पर्यटनलाई उकास्न योगदान गर्ने उनको भनाइ छ । ‘कोरोना माहामारी पछि यहाँको पर्यटन निकै खस्किएका थियो, यसलाई उकास्न देश विदेशका साइकल राइडरको उपस्थितिले केहि राम्रो सन्देश दिएको छ, आयोजकका अध्यक्ष फागोले भने ।

कोरोनाका कारण सुनसान भएको पर्यटन क्षेत्र प्रवद्र्धनमा सहयोग पुगेको सूर्योदय नगर उद्योग बाणिज्य संघका पूर्व महासचिव राजन प्रधानले बताए । प्रतियोगिता सफल पार्न ४ लाख २५ हजार खर्च भएकोमा सूर्योदय नगरपालिका र १० नम्बर वडा कार्यालय र दाताहरुले आर्थिक सहयोग गरेका थिए । ११ किरोमिटर पार गर्नका लागि आयोजकले २ घण्टाको समय तोकेको थियो ।