Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

२०७८ को अन्तिम दिन सूर्योदयमा माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्जको आयोजना

२०७८ को अन्तिम दिन सूर्योदयमा माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्जको आयोजना

  • लोकल सन्देश
  • मंगलबार, चैत्र २९ २०७८


२०७८ को अन्तिम दिन सूर्योदयमा माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्जको आयोजना

सूर्योदय । इलामको सूर्योदय नगरपालिकामा पहिलो पटक माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज आयोजना चैत्र ३० मा हुँदैछ । वैशाख ३० गते प्रतिस्पर्धात्मक माउन्टेन बाइक एडभेञ्चर आयोजना गरिएको हो । ११ किलो मिटर दुरीमा हुने प्रतिस्पर्धाका विजेताले २० हजार रुपैयाँ नगद सहित ट्रफि प्राप्त गर्नेछन् । दोस्रो हुनेले १५ हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद सहित ट्रफि पाउनेछन् ।
प्रतिस्पर्धामा ३० वर्ष माथी उमेर समूहकाले प्रतिस्पर्धा गर्न सक्नेछन् । इलाम सहित, झापा, मोरङ, सुनसरी र पाँचथरका ५० जनाभन्दा बढिको सहभागिता रहने आयोजकका अध्यक्ष शरण फागोले जानकारी दिए । फिक्कल चोक बजारबाट शुरु हुने प्रतियोगिता नयाँ चोक–केराबारी–आले– सहिद चोक– १० नम्बर वडा कार्यालय– फिक्कल रिङ रोड , बरबोटे हुँदै चोक बजारमै पुगेर अन्त्य हुनेछ । प्रतियोगीतामा सहभागी हुने ज्येष्ठ सदस्यलाई समेत सम्मान गर्ने कार्यक्रम राखिएको छ ।
स्वास्थ्यको लागि साइक्लिङमा आकर्षित गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज कार्यक्रमको आयोजना गरिएको आयोजकका सल्लाहकार युवराज बस्नेतले बताए। बस्नेत सूर्योदय क्षेत्रमा साइक्लिङ गर्ने पुराना मध्येका एक हुन्।

उनले यस क्षेत्रमा साइक्लिङको आकर्षण बढ्दै गएको बताए । ‘पहिले म एक्लै थिए, अहिले १०÷१२ जना भएका छौ’, बस्नेतले भने,‘यो कार्यक्रम पछि बढ्दै जान्छ भन्ने आशा छ, अब कम्तीमा २० जना जति हुनुप¥यो ।’
युवाहरूलाई साइक्लिङमा आकर्षित गर्न सकियो भने कुलतमा फस्ने युवाहरूको संख्यालाई पनि कम गर्न सकिने आयोजकको भनाइ छ । ‘फुर्सद भएर हो युवाहरू कुलतमा फसेको, उनीहरूलाई साइक्लिङमा भुलाउन सकियो भने कुलतमा लाग्नेको संख्या पनि कम हुने छ ।’, बस्नेतले भने।
पहिलो पटक हुन लागेको प्रतियोगिता सफल बनाउन स्थानीयले आयोजकलाई सहयोग गर्दै छन् । प्रतिस्पर्धीको लागि ट्रफि मेडल स्थानीय मानबहादुर प्रधानले आफ्नो स्वर्गीय छोरा विशाल प्रधानको स्मृतिमा प्रदान गरेका छन् । त्यस्तै पुरस्कारहरूको लागी पनि स्थानीयले सहयोग गरिरहेको आयोजकका अध्यक्ष शरण फागोले बताए ।
पर्यटकीय नगरीको रूपमा परिचित सूर्योदयमा कोरोना महामारीपछि खासै पर्यटकीय गतिविधि हुन सकेको छैन । प्रतियोगीताले खस्केको पर्यटनलाई उकास्न योगदान गर्ने आयोजकको अपेक्षा छ । ‘कोरोना माहामारी पछि यहाँको पर्यटभनेन निकै खस्किएको छ, यसलाई उकास्न हामीले केही न केही गर्नुपर्नेनै छ’, आयोजकका अध्यक्ष फागोले भने । प्रतियोगिता सफल पार्न ४ लाख २५ हजार लाग्ने छ । सूर्योदय नगरपालिका र १० नम्बर वडाले प्रतियोगिता संचालन गर्न आर्थिक सहयोग गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार