फिक्कल । प्रदेश नम्बर एकको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारको सडक जिर्ण भएको छ । झापाबाट पहाडी जिल्ला जोड्ने मेची राजमार्गमा पर्ने फिक्कल बजार क्षेत्रको सडक चौडा गरेपनि मर्मतको काम नहुँदा राजमार्ग धुले सडक बन्दै गएको हो ।
सूर्योदय नगरपालिकाको केन्द्र हो फिक्कल बजार । पर्यटकीय नगरिमा घोषणा भएको नगरपालिका भ्रमणका लागि दैनिक सयौँ पर्यटक पनि आउँछन् । भारतको पर्यटकीय सहर दार्जिलिङ जान चाहने नेपालीहरु पनि फिक्कल भएरै यात्रा गर्छन् ।

तर पर्यटकीय नगरि रहेको फिक्कल बजार बिचमा रहेको मेची राजमार्ग भने कच्चि सडक झै छ । नगरपालिकाको प्रशासनिक भवनदेखि छिपिटारसम्मको राजमार्ग क्षेत्रमा सयौँ खाल्टाखुल्टि छन् । जसले गर्दा साना ठुला दुवै सवारीसाधनका लागि धराप जस्तै भएको सवारी चालकहरुको गुनासो छ ।

सडक विस्तारका क्रममा सडक डिभिजन इलामले गरेको कालोपत्रे समेत उक्किएको छ । उक्किएको सडक मर्मतका लागि सरकारी निकायको ध्यानआकर्षण पुगेको छ्रैन । हजारौ नगरबासी र पर्यटकहरुको आवतजावत हुने सडकमा खाल्टाखुल्टि हुँदा पर्यटकीय नगरिको परिचय राम्रो नभएको समाजसेवी कमल गदालले बताए ।

मेची राजमार्ग पर्ने सडक एक वर्ष अघि सडक डिभिजन इलामले चौडाको काम गरेको थियो । सडक चौडा गरेपनि मर्मतको काम नहुँदा राजमार्ग धुले सडक बन्दै गएको हो । जथाभावि सावारीसाधन धुने, सडकको ढल व्यवस्थापन राम्रो नहुँदा राजमार्गमा क्षति पुगेको छ ।

सडक डिभजिन कार्यालय इलामले सडक पुनःस्थापना मार्फत मर्मतको ठेक्का संझौता गरेपनि निर्माण कम्पनीले अझै काम गरेका छैनन् । मर्मतको काम चाँडो गर्नका लागि निर्माण व्यवसायीलाई पत्राचार गरिएको सडक डिभजिनका सुचना अधिकारी संजय गौतमले बताए ।



