चुलाचुली : इलामको दक्षिणी क्षेत्र चुलाचुली गाउँपालिकामा निर्माण हुने औद्योगिक ग्रामको पुर्वसभामुख सुवासचन्द्र नेम्बाङले शिलान्यस गरेका छन् । चुलाचुली गाउँपालिका वडा नम्बर ३ र ४ को सिमानामा रहेको साँचे दोभान क्षेत्रमा निर्माण हुने औद्योगिक ग्रामको नेम्बाङले सोमबार शिलान्यास गरेका हुन् ।
करिब १० बिघा क्षेत्रफलमा निर्माण हुने औद्योगिक ग्रामको लागि गत माघमा उद्योग मन्त्रालयमा गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई र प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । नेपाल सरकारमार्फत तत्काल ९२ लाख निकासा हुने र यसको आयोजना विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पछि उक्त रिपोर्टका आधारमा थप बजेट विनियोजन हुने जनाइएको छ ।
शिलान्यास समारोह कार्यक्रममा १ नम्बर प्रदेश सांसद एवं पूर्व कृषि तथा भूमि मन्त्री राम राना, इलाम नगर प्रमुख महेश बस्नेत, राजनीतिककर्मी ओमनारायण खनाल, गजेन्द्र याक्खा, चुलाचुली सामाजिक विकास समितिका संयोजक राम प्रसाद राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पालिकाको उपाध्यक्ष निर्मला दाहालबाट अतिथिहरूलाई स्वागत मनतव्य राखिएको कार्यक्रम चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिप चन्द्र राईको अध्यक्षतामा सम्पन भएको थियो । सरकारले प्रत्येक स्थानीय तहमा एउटा औद्योगिक ग्राम घोषणा गर्ने लक्ष्य अनुरुप आर्थिक वर्ष २०७६÷७७ देखि हालसम्म ८४ वटा औद्योगिक ग्राम घोषणा भएका छन् ।