ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित हाप्पुखोला बृहत खानेपानी आयोजनाको खानेपानी मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेका छन् । आयोजना निर्माणको काम सम्पन्न भएपछि बुधबार मन्त्री चौधरीले उद्घाटन गरेका हुन् ।
सो अबसरमा मन्त्री चौधरीले आयोजना सम्पन्न भएपनि सो स्थानमा स्वच्छ पिउने पानी अभावको समस्या समाधान भएको बताए । उनले घर घरमा स्वच्छ पानी पुर्याउने नेपाल सरकारको लक्ष्य रहेकाले त्यसका लागि व्यापक काम गरिरहेको बताए ।
सो आयोजनाको काम संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलाम मार्फत चार करोड ७१ लाख रुपैयाँमा सम्पन्न भएको हो । उक्त आयोजना अन्तर्गत स्कीम नम्बर १, २ र ३ को काम सम्पन्न भएको छ । त्यस्तै ४ र ५ नम्बर स्कीमको ८० प्रतिशत काम पुरा भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका प्रमुख सुरतलाल चौधरीले जानकारी दिए ।
बुधबार उद्घाटन गरिएको आयोजनाबाट स्थानीय २३५ घरधुरीका १४ सय बढी जनता लाभान्वित हुने जनाइएको छ । उद्घाटन कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुर्यराज कँडेल, सिरिजङ्गा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङ, स्थानीय जनप्रतिनिधिहरु र लाभान्वित हुने स्थानीय सयौँ जनताको उपस्थिती रहेको थियो ।