Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पुर्वी पहाडका कृषि प्राविधिकलाई कफी सम्बन्धी तालिम

पुर्वी पहाडका कृषि प्राविधिकलाई कफी सम्बन्धी तालिम

  • सन्देश सम्वाददाता
  • शनिबार, फाल्गुन २८ २०७८


पुर्वी पहाडका कृषि प्राविधिकलाई कफी सम्बन्धी तालिम

फिक्कल । पुर्वी पहाडका ३ जिल्लामा कार्यरत कृषि प्राविधिकहरुलाई अर्गानिक कफी चक्र सम्बन्धी तीन दिवसीय तालिम दिइएको छ । चिया तथा कफी विकास बोर्ड चिया विस्तार आयोजना फिक्कलले इलाम, पाँचथर र ताप्लेजुङका स्थानीय तहमा कार्यतर प्राविधिहरुलाई पहिलो पटक अर्गानिक कफी चक्र प्रविधि सम्बन्धी तालिम दिएको हो ।

स्थानीय पालिकाबाटै कफी खेतीको बिस्तार, प्रशोधन र बजारीकरणका लागि पहल गर्ने उद्देश्यले कृषि प्राविधिकलाई तालिम दिईएको चिया बिस्तार आयोजना फिक्कलका प्रमुख इन्द्र अधिकारीले बताए । आयोजना प्रमुख अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का सांसद काजीमान कागतेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै सांसद कागतेले इलाम चियाको मात्र नभई कफी खेतीका लागि उर्वर भूमी भए पनि मेहनत नपुगेको बताए । उनले स्थानीय तहका कर्मचारीले कफी खेती सम्बन्धी प्रस्ताव ल्याए प्रदेश सरकारले सहयोग गर्ने बताए । सांसद कागतेले देश संचालन गर्ने स्थायी सरकार कर्मचारी नै भएको बताउदै राजनीतिक दलले आ–आफनो डम्फु मात्र बजाउने गरेको बताए ।

कागतेले स्थानीय तहले कफी खेतीमा लगानी गर्न सके देशको अर्थतन्त्रमै सुधार आउन सक्ने बताए । कार्यक्रममा आयोजना प्रमुख अधिकारीले आधुनिक कफी खेती सम्बन्धी स्थानीयलाई सामान्य जानकारी समेत नभएकोले तालिम पछि स्थानीय तह मार्फत कफी खेती सम्बन्धी ज्ञान किसान समक्ष पुग्ने अपेक्षा गरेको बताए ।

तालिममा सहभागी इलाम नगरपालिकाका कृषि प्राविधिक उपेन्द्र नेपालले कफी खेती सम्बन्धी बिस्तृत जानकारी पाएकाले आउदा दिनमा पालिका मार्फत कृषक समक्ष पुगेर कार्यान्वयन गरिने बताए । कार्यालयले चाक्लाबन्दीमा कफी खेती बिस्तारको काम गर्दै आएको छ ।

चालु आर्थिक बर्षमा सूर्योदय नगरपालिकाको चादनी कृषि फर्म, फाकफोकथुम र माङसेबुङमा १५० रोपनीका दरले कफी खेती गरिएका फर्मलाई ७ लाख ५० हजारका दरले ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ । इलाममा हाल ९०० रोपनी बढी क्षेत्रफलमा कफी खेती गरिदै आएको छ ।

कार्यालयले दिएको अनुदानले पल्पीङ, हलिङ गरेर ग्रीनवीन तयारका लागि कफी प्रशोधन केन्द्र स्थापना गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार