काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाललाई हृदयाघात भएको छ। आइतबार बिहान हृदयघात भएपछि उनलाई नर्भिक अस्पताल लगिएको छ। प्रकाशलाई नर्भिक अस्पताल लगिएको माओवादी प्रवक्ता पम्फा भुसालले पुष्टि गरिन्। आफू भर्खरै अस्पताल पुगेको भन्दै उनले थप बताउन चाहिनन्।
प्रकाशको स्वास्थ्य अवस्थाबारे अस्पतालले पनि केही बताएको छैन। छोरा गम्भीर बिरामी परेको खबर पाएपछि प्रचण्ड झापाबाट काठमाडौं फर्किँदै छन्। उनी आइतबार मोरङको विराटचोकमा हुने वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न त्यहाँ पुगेका थिए।
नर्भिक अस्पतालमा भीड, प्रचण्ड आइपुग्दै, प्रवक्ता भुसाल अस्पताल पुगिन्
हृदयाघात भएर प्रचण्डपुत्र प्रकाश दाहाललाई नर्भिक अस्पताल भर्ना गरिएपछि त्यहाँ माओवादी नेता-कार्यकर्ता तथा शुभचिन्तकहरुको भीड लागेको छ। माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल अस्पताल पुगिसकेकी छिन्। चुनावी अभियानमा राजधानीमै रहेकाले भुसाल छिट्टै अस्पताल पुगेकी हुन्।

भुसाल प्रतिनिधिसभाका लागि ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार छिन्। प्रायस् नेताहरु राजधानी बाहिर छन्। गएराति बिर्तामोडमा बास बसेका प्रचण्ड हेलिकोप्टरबाट काठमाडौं आउँदै छन्। अस्पतालबाहिर प्रकाशको स्वास्थ्य स्थितिबारे जान्न चाहनेहरुको ठूलो भीड लागे पनि अस्पतालले केही बताएको छैन।