इलाम । नेपाल सुपर लिग (एनएसएल) को नयाँ टिम स्पोर्टिङ इलाम डी मेचीले मार्की खेलाडी र मुख्य प्रशिक्षक तय गरेकाे छ । इलामले मेघराज केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हाे । इलामले मार्की खेलाडीको रुपमा राष्ट्रिय टोलीका सदस्य तेज तामाङलाई अनुबन्ध गरेको क्लबका मालिक सुहाङ नेम्वाङले जानकारी दिए ।
पहिलो संस्करणमा मेघराज एफसी चितवनको मुख्य प्रशिक्षक रहेका थिए । हालै सकिएको ए डिभिजन लिगमा मेघराजले सातदोबाटो युथ क्लब हेरेका थिए । केसीकै नेतृत्वमा नवप्रवेशी क्लब सातदोबाटोले उत्कृष्ट नतिजा निकाल्ने क्रममा सहिद स्मारक ए डिभिजन लिगमा चौथों स्थान हात पारेको थियो ।
यस्तै तेजले च्याम्पियन टोली काठमाडौं रेजर्सबाट खेलेका थिए । उनी नेपाल पुलिस क्लबबाट व्यवसायिक फुटबल खेल्छन् । एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ ।
प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ । पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो । पहिलो संस्करणमा ७ टोलीले सहभागीता जनाएका थिए ।