फिक्कलः हिमालय माध्यमिक विद्यालय सूर्योदय नगरपालिका–१ गोर्खेका बिद्यार्थीहरुलाई ‘प्रजनन स्वास्थ्य र अपाङ्गता रोकथाम सम्बन्धि शिक्षा’ प्रदान गरिएको छ । सूर्योदय नगरपालिकाको ‘अपाङ्गता रोकथाम र पुनःस्थापना’ कार्यक्रम अन्तर्गत वडा नम्बर १ को उक्त विद्यालयमा शुक्रबार कक्षा संचालन गरिएको कार्यक्रमकी सहजकर्ता प्रकृति खतिवडाले जानकारी दिइन् ।
कक्षा ८ देखि १० मा अध्ययनरत किसोर किसोरीका लागी कक्षा संचालन गरिएको हो । प्रजनन स्वास्थ्य भनेको के हो ? अपाङ्गताको परिचय,प्रकार, सम्भावित कारण र नियन्त्रणमा किसोर किसोरीको भुमिका विषयक कक्षा संचालन गरिएको खतिवडाले जानकारी दिइन् । कार्यक्रमको सहजिकरण स्वास्थ्य चौकी गोर्खेका अहेब पुष्पा तामाङ्ग र सिनियर अनमि कल्पना राईले गरेका थिए ।

कार्यक्रमको अवसरमा बालबालिकालाई खेल सामाग्री समेत हस्तान्तरण गरिएको छ । बालक्लबका लागी अतिरिक्त क्रियाकलाप अन्तर्गत विनियोजित बजेटबाट खेल सामाग्री हस्तान्तरण गरिएको हो । बालबालिकाका लागी फुटबल, भलिबल, स्किपिङ, चेसबोर्ड, लुडो, ब्याटमिन्टन लगायतका खेल सामाग्री वितरण गरिएको हो ।
वडाध्यक्ष राजकुमार शेरेङ्गले उक्त सामाग्रि विद्यालयका सहायक प्रधानाध्यापक कुल बहादुर ईम्संगलाई हस्तान्तरण गरे । कार्यक्रम आयोजनाका लागी विद्यालयको तर्फबाट शिक्षक सिद्धि प्रसाद तिम्सिनाले धन्यवाद ज्ञापन गरेका छन् । कार्यक्रमको संचालन सहजकर्ता प्रकृति खतिवडाले गरेकी थिईन् । ‘अपाङ्गता रोकथाम र पुनःस्थापना’ कार्यक्रम अन्तर्गत ‘प्रजनन स्वास्थ्य र अपाङ्गता रोकथाम सम्बन्धि शिक्षा’ नगरपालिकाले प्रत्येक वडामा संचालन गरिरहेको छ ।
