इलाम । इलाममा जारी प्रथम देउमाई गोल्डकपमा भेनस एफसी सूर्योदय नगरपालिका बिजयी भएको छ । दोश्रो क्वाटरफाइनल खेलमा भेनसले गुनमुने स्पोर्टिङ क्लबलाई ३–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । प्रतियोगिता अन्र्तगत भेनसले नेपाली सेनाको पशुपति गणसंग प्रतिस्पर्धा गर्ने तय भएको थियो ।
तर सेनाको टोली नआएपछि गुनमुनेलाई सहभागि गराइएको थियो । भेनसका लागि तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । पहिलो हाफमा दुवै टोलीले पाएको अवसर खेर फालेपछि गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको १०औँ मिनेटमा भेनसका शेखर राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
सात मिनट लगतै राईले नै व्यक्तिगत दोस्रो गोल गरे । यसअघि १५औँ मिनेटमा सुसन कार्कीले थप एक गोल गरेका थिए । खेलमा भेनसका शेखर राई म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत सोमबार आयोजक युनाइटेड युथ क्लब मंगलबारे र होलिबोथ एफसी इलामबीच प्रतिस्पर्धा हुनेछ ।