माई । महिलाको पाठेघर मुखमा हुन सक्ने सम्भाबित क्यान्सर 𝗩𝗶𝘀𝘂𝗮𝗹 𝗜𝗻𝘀𝗽𝗲𝗰𝘁𝗶𝗼𝗻 𝗪𝗶𝘁𝗵 𝗔𝗰𝗲𝘁𝗶𝗰 𝗔𝗰𝗶𝗱 भिआईए बिधिद्धारा एक सय ३५ जनाको परिक्षण गर्दा ११ जनामा पोजेटिभ देखिएको छ । माई नगरपालिका र चुलाचुली गाउँपालिकामा सम्पन्न एक दिने शिबिरमा ११ जना महिलामा भिआईए पोजेटिभ देखिएको हो ।
इलामको चुलाचुली गाँउपालिका–१ कमलमा शनिबार सम्पन्न शिबिरमा ६२ जनाको स्वास्थ्य परिक्षण गर्दा १० जनामा भिआईए पोजेटिभ देखिएको चुलाचुली स्वास्थ्य शाखा प्रमुख दुष्यान्त दहालले जानकारी दिएका छन् । पोजेटिभ सबैलाई थप परिक्षणका लागि सिफारिस गरिएको छ ।
यता माई नगरपालिका, करुणा फाउण्डेसन नेपाल र फिमेल क्यान्सर फाउण्डेसन नेदरल्याण्ड्सको संयुक्त साझेदारीमा शिबिर सम्पन्न भएको थियो । माई नगरपालिका वडा नम्बर–६ विहबारेमा आईतबार सम्पन्न शिबिरमा ७३ जना महिलाले पाठेघरको मुखमा हुन सक्ने सम्भावित क्यान्सर भिआईएको परिक्षण गरेका थिए ।
परिक्षणमा एक जनाको पोजेटिभ देखिएकाले थप उपचारका लागि सिफारिस गरिएको छ । शिबिर उद्घाटन गर्दै वडा अध्यक्ष मुखराज आङ्गदम्बेले समस्यालाई खुलेर जानकारी गराउन सहभागीलाई अनुरोध गरे । सिनियर अनमी कमला श्रेष्ठ, अनमी जानुका पाण्डे र करुणा फाउण्डेसन नेपालका कार्यक्रम अधिकृत सोनिका रेग्मीले भिआईए परिक्षण गरेका थिए ।
माई अस्पतालका मेडिकल अधिकृत डा रामकृष्ण आचार्यका अनुसार शिबिरमा सहभागि महिलाहरुको भिआईए सहित थप स्वास्थ्य परिक्षण गरिएको छ । महिलामा भएको स्वास्थ्य समस्या पहिचानमा शिबिर उपलब्धिमुलक भएको माई नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिए ।
पाठेघरको मुखको क्यान्सरबाट अकालमै धेरै महिलाको मृत्यु हुने भएकाले क्यान्सर लाग्न लागेको दश बर्ष अगाडी थाहा पाउने गरि प्रयोग गरिने स्पेकुलम औजारबाट गरिने परिक्षण नै भिआईए परिक्षण हो ।
भिआईए परिक्षण सेवा इलाम जिल्लाका अधिकाँस स्वास्थ्य चौकीबाट निःशूल्क प्राप्त गर्न सकिने करुण फाउण्डेसन नेपालका कार्यक्रम संयोजक अजीत योञ्जनले बताए । करुणा फाउण्डेसनको सहकार्यमा जिल्लाका सबै स्वास्थ्य संस्थाबाट भिआईए परिक्षण निशुल्क गर्ने ब्यबस्था गरिएको बताइएको छ ।
३० देखि ६० बर्ष सम्मका महिलालाई प्राय पाठेघरको मुखमा हुने क्यान्सर हुने गरेको पाईएको छ । प्रत्येक पाँच बर्षमा पाठेघरको जाँच गराउनु पर्ने बताँईएको छ । पाठेघरको मुखमा औपधी लगाई गरिने परिक्षण बिधि भिआईए परिक्षण हो । पाठेघरको क्यान्सर बिशेष गरि कलिलो उमेरमा यौन सम्पर्क भएका, परिबारका सदस्यहरुलाई पाठेघरको क्यान्सर भएको, यौन सक्रमण भएमा, यौन साथी धेरै जना भएमा, रोगबाट लड्ने क्षमता कमि भएमा देखिन्छ ।
धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन गरेमा र पाठेघरको मुखको जाँच गर्दा असामान्य रहेको जानकारी अघिल्लो पटकको परिक्षणले देखाएमा क्यान्सर हुन सक्ने बिज्ञहरुले बताएका छन । सोमबार इलाम नगरपालिका–१० गोदकमा भिआईए परिक्षण गरिने करुणा फाउण्डेसन इलामले जनाएको छ ।