इलाम । राष्ट्रिय महिला फुटबल लिग २०७८ को दोस्रो संस्करणका लागि विराटनगर महानगरपालिका र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सम्झौता भएको छ। विराटनगर महानगरपालिकामा बिहीबार भएको एक कार्यक्रममा दुवै पक्षबीच लिगको दोस्रो चरणका २८ खेल सहिद मैदानमा गर्ने सहमति भएको हो ।
उक्त अवसरमा नगर प्रमुख भीम पराजुलीले महानगरले विकास निर्माणसँगै खेलकुदलाई प्राथमिकतामा राखेको बताए। प्रतियोगिताका लागि महानगरपालिकाले ४५ लाख रुपैयाँ एन्फालाई प्रदान गर्ने उनको भनाइ छ। यसअघि साफ महिला च्याम्पियनसीपको सफल आयोजना गरेको स्मरण गर्दै मेयर पराजुलीले महानगरको आफ्नै टोली मैदानमा उत्रने बताए।
त्यस्तै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले राष्ट्रिय महिला लिगका लागि २ करोड ६१ लाख रुपैयाँ खर्च लाग्ने बताए। उनका अनुसार प्रतियोगितामा विराटनगरसहित ८ महिला टोलीको सहभागिता रहनेछ। विजेता टोलीले २० लाख रुपैयाँ ट्रफी, दोस्रो हुनेले १० लाख रुपैयाँ र तेस्रो स्थानमा आउने टोलीले ५ लाख रुपैयाँ हात पार्नेछन्। त्यसैगरी चौथो हुने टोलीले ३ लाख र पाँचौं हुनेले १ लाख रुपैयाँ पाउनेछ।
अध्यक्ष शेर्पाले काठमाडौँ बाहिर पहिलोपटक महिला साफ आयोजना गरेको महानगरपालिकाले यसपटक राष्ट्रिय लिगलाई भव्य बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा जानकारी दिइएअनुसार पहिलो चरणको २८ वटा खेल भने भरतपुरको चितवनमा चैत १० गतेबाट हुनेछ।
लिगमा विराटनगर महानगरसँगै साविक विजेता सशस्त्र प्रहरीको टोली एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, स्याङजाको वालिङ नगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिकाको सहभागिता रहनेछ। राष्ट्रिय लिगको पहिलो संस्करणमा विराटनगर महानगरपालिकाको टोली पाँचौं स्थानमा रहेको थियो।