माई : इलामको माई नगरपालिका–७ जारी दोश्रो महमाई खुल्ला नकाउट पुरुष तथा महिला मिनी गोल्डकप अन्र्तगत चेप्टी र शनिश्चरे बिजयी भएका छन् । तरुण दलको आयोजना र महमाई एकता क्लबको सहआयोजनामा सुरु भएको प्रतियोगिताको उद्धघाटन खेलमा आयोजकलाई टाइब्रेकरमा हराउँदै चेप्टीले बिजयी सुरुवात गरेको हो
त्यसै गरी दोश्रो खेलमा शनिश्चरेले माई किनारलाई १–० गोल अन्तरले पराजित गर्न सफल रहयो । आगामी फागुन १४ गतेसम्म संचालन हुने प्रतियोगितामा भोलीबाट महिलाको समेत खेल हुनेछ । पुरुष तर्फ इलाम र झापाका १६ टिमको सहभागिता रहेको छ ।
महिला तर्फ ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्र्तगत दोश्रो दिन पुरुष तर्फ रातेखाल युवा क्लब र भाग्यशाली स्र्पोटिङ क्लब तथा सुखानी सहिद स्मारक र युवा क्लब बिच प्रतिस्पर्धा हुनेछ । महिला तर्फ सयपत्री शनिश्चरे र दमक झापा बिच खेल हुनेछ ।
पुरुष तर्फको बिजेताले ५१ हजार तथा उपविजेताले २० हजार सहित शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यसैगरी महिला तर्फ विजेताले २० हजार र उपविजेताले १० हजार सहित शिल्ड, मेडल र ट्रफी प्राप्त गर्ने आयोजक समितिका रमेश गिरीले जानकारी दिए ।
गत बर्षको पहिलो संस्करणको प्रतियोगिता पुरुष तर्फ आयोजकले र महिला तर्फ जुनतारा झापाले जितेको थियो । आयोजकले याक्थुहाङ झापा र महिला तर्फ जुनताराले आयोजक ए लाई हराउँदै उपाधि जितेका थिए ।