इलाम : इलामको माङसेबुङमा जारी १२ औं संस्करणको पवित्रहाङमा कप खेलकुद प्रतियोगितामा आज जनता सेभेन स्पोर्टिङ क्लब इलाम र माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरीबीच खेल हुँदैछ। माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द खेल मैदानमा जारी प्रतियोगिता आज विजयी हुने टोली सेमिफाइनल प्रवेश गर्नेछ।
बिहीवार सम्पन्न भएको प्रि–क्वाटरफाइनल खेलमा विजयी बन्दै केराबारी गाउँपालिका खेलकुद विकास समिति मोरङ क्वाटरफाइनल प्रवेश गरिसकेको छ। केराबारीले उपाधिको दावेदार मानिएको झापा दमकको रोयल स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको थियो। प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरीमा खेल सकिएपछि नतिजा ट्राइब्रेकरमा धकेलिएको थियो।
खेलको वुमन अफ दी म्याच केराबारी मोरङकी गोलरक्षक कल्पना क्षेत्री घोषित भइन्। उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन्। प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी, उदयपुरका १० टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १ लाख ११ हजार १६६ र उपविजेताले ६६ हजार १६६ रुपैयाँ पुरस्कार पाउने छन्।
त्यस्तै‚ सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचलाई समेत पुरस्कार प्रदान गरिने छ। प्रतियोगिताको फाइनल खेल भने फागुन ३ गते छ।