इलाम । फरवार्ड बिमल घर्तीमगरले निर्णायक गोल गरेपछि पहिलाे मैत्रीपुर्ण खेलमा नेपालले मौरिससलाई पराजित गरेको छ । ५५ औ मिनेटमा बिमलको गोलसंगै नेपालले ११ बर्षपछि मैत्रीपुर्ण खेलमा जीत निकालेको हो । नेपालले पछिल्लो पटक मैत्रीपुर्ण खेलमा १९ मार्च २०११ मा भुटानलाई २–१ ले हराएको थियो ।
प्रतिबन्ध र चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पूनरागमन गरेको पहिलो खेलमै बिमलले गोल गर्न सफल भएका हुन् । अन्जन विष्टको पासमा बिमलले गरेको प्रहार पोलमा लाग्दै गोलमा परिणत भएको थियो । यससँगै बिमलको अन्तराष्ट्रिय गोलसंख्या ९ पुगेको छ । उनी राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ताबाट ५ गोल मात्र टाढा छन् । नेपालका लागि हरि खड्का र निराजन रायमाझीले समान १३/१३ गोल गरेका छन् ।
आकाश र सुदिपको डेब्यु
नेपाली राष्ट्रिय टोलीबाट २ जना खेलाडीले डेब्यु गरेका छन् । पहिलो पटक ए डिभिजन लिग खेलेको सातदोवाटो युथ क्लबका आकाश बुढा मगर र सुदिप गुरुङले राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । खेलको ८५ औ मिनेटमा सुरज ज्यू ठकुरीको स्थानमा सुदिप मैदान प्रवेश गरेका हुन् ।
त्यसैगरी इन्जुरी समयमा तेज तामाङको स्थानमा आकाश मैदान प्रवेश गरेका हुन् । उनी नेपालको यु–१५ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । नेपालले अब मौरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण मंगलबार खेल्नेछ ।