इलाम : सूर्योदय नगरपालिका–९ का पुरुषोत्तम पराजुलीले स्थानीय जातका गाईपालन गर्न छोडेको १० वर्ष भयो। श्रम उत्तिकै भए पनि स्थानीय जातका गाईबाट कम दुध उत्पादन भएपछि पराजुलीले पाल्न छाडेका हुन्। अहिले पराजुलीको गोठमा उन्नत जातको गाई र बाछी छन्। दुध धेरै दिने र आम्दानी पनि राम्रो हुन थालेपछि उनले उन्नत जातका गाईपालन सुरु गरेका हुन्।
स्थानीय जातका गाईमा उन्नत जातको साँढेको ‘सिमेन’ प्रयोग बढेसँगै इलाममा उन्नत जातको संख्यामा वृद्धि आएको छ। कृतिम गर्भाधान सेवा सुरु भएको इलामको १० स्थानीय तहमध्ये तीनमा मात्रै स्थानीय जातको गाईपालन हुँदै आएको छ। स्थानीय गाईमा उन्नत जातको साँढेको सिमेन प्रयोग गरेपछि जन्मिने बाछाबाछी उन्नत जातकै हुन्छन्।
कृतिम गर्भाधानबाट हुर्किएका बाछीमा पुनः कृतिम गर्भाधान सेवा नियमित भएपछि इलाममा उन्नत गाईको संख्या बढेको हो। उन्नत जातका गाईबाट बिहान र साँझ गरी २० देखि ३० लिटरसम्म दुध संकलन हुने गरेको छ। दैनिक १६ देखि २० लिटर दुध दिने गाईको १ लाख १५ हजार रूपैयाँसम्म खरिद बिक्री हुँदै आएको छ।

३० लिटरसम्म दुध दिने गाई २ लाख रूपैयाँसम्म खरिद बिक्री हुन्छ। भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको तथ्यांकमा इलामका १० स्थानीय तहमध्ये माई नगरपालिका, चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिकाको केही वडामा मात्रै स्थानीय जातको गाईपालन हुँदै आएको छ।
इलाममा २०४६ सालदेखि गाईमा कृतिम गर्भाधन सेवा सुरु भएको थियो। कृतिम गर्भाधानमा प्रयोग हुने सिमेनको किसानले २५ रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ। सरकारले उन्नत साँढेको सिमेन झिकेर किसानका गाई र बाछीमा कृतिम गर्भाधानको सेवा दिन थालिएपछि उन्नत गाईको संख्या बढेको हो। कृतिम गर्भाधानका लागि आवश्यक सिमेन पोखरा र लहानका फार्ममा उत्पादन गरी स्थानीय तहका पशु सेवा शाखामार्फत किसानलाई सेवा प्रदान गरिन्छ।
उन्नत जातको गाईपालनपछि इलाममा दुध उत्पादन समेत बढेको छ। इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दुध उत्पादन हुने गरेको छ। इलाम ५ वर्षअघि नै दुधमा आत्मनिर्भर जिल्ला समेत घोषणा भइसकेको छ। इलामको जनसंख्याअनुसार वार्षिक प्रतिव्यक्ति ९२ लिटर आवश्यक हुन्छ। तर‚ इलाममा प्रतिव्यक्ति १०० लिटरभन्दा बढी पूर्ति हुने गरेको छ।