इलाम । गएराति भएको दुर्घटनामा मृत्यु भएका भीम नेम्वाङका परिवारले इलाम अस्पतालमा रहेको लास बुझ्न मानेका छैनन् । मृतकका आफन्तहरुले पोष्टमार्टम भइसकेको लास बुझ्न नमानेका हुन् ।
बुधबार साँझ अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दैै मृतकका आफन्तले दोलखा निर्माण सेवाले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताए । मृतकका परिवारलाई शिक्षा र रोजगारी दिनुपर्ने, सरकारी नियमअनुसार क्षतिपूर्ति दिनुपर्ने, काजकिरिया लगायतका प्रकृयामा लागेको खर्च भरपाई गरिदिनुपर्ने माग मृतकका आफन्तले राखेका छन् ।
मृतकका आफन्त धनबहादुर खाम्दाकले भने, ‘आफन्तको माग पुरा नभएसम्म हामी लास बुझ्दैनौं । गाडीधनीले पीडितको बेवास्ता गरेको छ, पीडामाथि थप पीडा थपेको छ, हामी प्रशासनलाई यस घटनामा सहजिकरण गर्न आग्रह गर्दछौं ।’
दोलखा निर्माण सेवाको ना ४ ख ३६९ नम्वरको ट्रक मंगलबार साँझ दुर्घटनामा परी पाँचथर फिदिम १३ स्थायी घर भई हाल इनपा ६ बस्ने ३४ वर्षीय भीम नेम्वाङको मृत्यू भएको थियो । झापाबाट इलामतर्फ रोलर बोकेर ल्याउँदै गरेको सो ट्रक मेची राजमार्गस्थित किटेनी सडक खण्डबाट करिब २५० मिटर तल खसेको थियो ।