फिक्कलः प्रथम वडा स्तरिय सूर्योदय मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नं ११ ले जितेको छ छ । सुर्योदय नगरपालिका–९ पान्दामको एमएफसी खेलमैदानमा सम्पन्न फाइनल खेलमा वडा नं १२ लाई १–० गोल अन्तरले हराउँदै वडा नं ११ ले उपाधि रक्षा गरेको हो ।
शेखर राईले खेलको २१ औ मिनेटमा गरेको गोल नै उपाधिको निर्णायक बन्यो । उपाधि संगै बिजेताले नगद १ लाख र उपविजेताले ६० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । सेमीफाइनल खेलमा वडा नं १० माथि ३–१ गोल अन्तरको जीत निकाल्दै वडा नं १२ ले फाइनलमा स्थान बनाएको थियो भने वडा नं ११ ले वडा नं १ माथि ४–० गोल अन्तरको जीत निकालेको थियो ।
प्रतियोगितामा ४ गोल गरेका वडा नं १० का सचिन योल्मो सर्वाधिक गोलकर्ता घोषित भए । वडा नं ११ का सर्जन लिम्बु उत्कृष्ट गोलरक्षक, वडा नं ११ कै शेखर राई उत्कृष्ट स्ट्राइकर, वडा नं ११ का सौभाग्य लिम्बु उत्कृष्ट डिफेन्स घोषित भए । उनीहरुले जनही ५ हजार रुपैया प्राप्त गरे । प्रतियोगिताको फेयर प्ले टिम वडा नं १ घोषित हुँदै नगद १० हजार प्राप्त गर्न सफल रहयो ।
सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईको अध्यक्षतामा सम्पन्न फाइनल खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाको प्रमुख आतिथ्यतार केन्द्रिय सदस्य निरोज खड्गीको विशेष आतिथ्यता रहेको थियो ।
सुर्योदयसंग सहकार्य गर्न एन्फा तयार : शेर्पा
कार्यक्रममा बोल्दै शेर्पाले ग्रासरुट फुटबल बिकासको लागि एन्फा इच्छुक रहेको बताए । उनले फुटबल विकासको लागि ग्रासरुटमा लगानी गर्ने बताए । ग्रासरुटको एकेडमी संचालनमा समेत सहयोग पु¥याउने शेर्पाले प्रतिवद्धता जाहेर गरे ।
शेर्पाले सूर्योदय नगरपालिकासंगको साझेदारीमा विविध कार्यक्रमहरु अघि बढाउन एन्फा तयार रहेको बताए । उनले करफोक खेलमैदान सम्झौता अनुरुप कार्य अघि बढाउने बताए ।
कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, जिल्ला फुटबल संघका प्रतिनिधि संघसंस्थाका प्रतिनिधि एवम विभिन्न फुटबल क्लबका प्रतिनिधि लगायत ५० भन्दा बढिको आतिथ्यता रहेको थियो । कार्यक्रममा १४ वटै वडाका अध्यक्षहरुको तर्फबाट ९ का वडाध्यक्ष देवेन्द्र शर्माले शुभकामना मन्तब्य राखेका थिए ।
मिलियन फ्रेन्डस क्लबको संयोजनमा संचालित प्रतियोगिता को समापन अवसरमा विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।