Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

सेन्ट्रल जोन भलिबल : माल्दिभ्समाथि नेपालको सहज जित

सेन्ट्रल जोन भलिबल : माल्दिभ्समाथि नेपालको सहज जित

  • सन्देश सम्वाददाता
  • शुक्रबार, पौस ९ २०७८


सेन्ट्रल जोन भलिबल : माल्दिभ्समाथि नेपालको सहज जित

इलाम । बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तरगत महिलातर्फ नेपालले लगातार दोस्रो जित हात पारेको छ । माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले महत्वपुर्ण ३ अंक बटुलेको हो । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलको पहिलो सेट २५–११ ले जितेको नेपालले दोश्रो सेट २५–९ र तेश्रो सेटमा २५–५ ले आफ्नो पक्षमा पार्न सफल रहयो ।

नियमित खेलाडी प्रतिभा माली र सरस्वती चौधरी लगायतका चर्चित खेलाडीलाई पहिलो र दोस्रो सेटमा विश्राम दिएको थियो । तेस्रो सेटमा सरस्वती र प्रतिभालाई मैदानमा उतार्दा नेपालले एकपक्षीय अंक जोड्दै जित निकाल्न सफल भएको थियो । लगातार दोस्रो जितसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । यसअघि नेपालले बिहीबार भएको खेलमा श्रीलंकामाथि ३–२ को रोमाञ्चक पूनरागमन जित निकालेको थियो ।

नेपालको दुई खेलबाट ५ अंक पुगेको छ । अब नेपाली महिला टोलीले २५ डिसेम्वरमा घरेलु टोली बंगलादेशसँग तथा लिगको अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्ने तालिका छ । महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता छ ।

राउन्ड रोबिनको आधारमा संचालित प्रतियोगिताको शिर्ष २ टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् । यस्तै पुरुष टोलीले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र उज्वेकिस्तानबीचको खेल अपराहन्न ५ः४५ बजे सुरु हुनेछ । नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–० को सेटमा पराजित भएको थियो ।

पुरुषतर्फ आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी पाँच राष्ट्रको सहभागिता रहेको छ । फाइनल २९ डिसेम्वरमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार