काठमाडौं । एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको छ । नेपालले डिफेन्डिङ च्याम्पियन भारतलाई १९ रनले पराजित गर्यो । क्रिकेटका कुनै पनि फर्मेटमा नेपाललाई भारतलाई हराएको यो पहिलोपटक हो । नेपालको जितमा कप्तान दीपेन्द्रसिंह ऐरी नायक सावित भए । उनले पहिले ब्याटिङमा ८८ रन बनाए भने कसिँलो बलिङ गर्दै भारतका ४ महत्वपूर्ण विकेट लिए ।
मलेसियाको बायुमास ओभलमा टस जितेको भारतले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो । ऐरीले ८८ रन बनाउने क्रममा १०१ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे।
प्रारम्भिक ब्याट्सम्यान जितेन्द्र सिंहले ३६ रनको योगदान गरे । उनले ९५ बलमा ३ चौका प्रहार गरे । अर्का ओपनर आसिफ शेख भने ३ रनमा पेभेलिएन फर्किए । मध्यक्रम चल्न नसक्दा नेपाल एकसमय कठिन अवस्थामा देखिएको थिया । अनिलकुमार साह ६ रनमा आउट हुँदा रोहितकुमार पौडेल पनि ६ रनमै पेभेलियन फर्किए ।
भीम सार्कीले पनि १५ रनको मात्र योगदान गरे। उनले २२ बलमा २ चौका र १ छक्का हिर्काए । यस्तै, पवन सर्राफ १ रनमै पेभेलियन फर्के भने कमलसिंह ऐरी १७ बलमा ५ रन जोडेर आउट भए। सन्दीप लामिछाने ९ र किशोर महतो ७ रनमा नटआउट रहे ।
बलिङतर्फ भारतका आदित्य ठाक्रे र अभिषेक शर्माले २–२ विकेट लिए भने मन्दीप सिंह, विवेकानन्द तिवारी, शिव सिंह र अर्थव टइडेले १–१ विकेट हात पारे। जवाफमा नेपाली बलरले आफ्नो कमाल देखाए । निकै कसिँलो बलिङ गरेका नेपाली बलरले भारतलाई रनमा अलआउट गर्दै ऐतिहासिक जित हात पारे ।