Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

मापदण्डविहिन छन् गोल्डकप प्रतियोगिता

मापदण्डविहिन छन् गोल्डकप प्रतियोगिता

  • नमीन ढकाल
  • शनिबार, कार्तिक २५ २०७४


मापदण्डविहिन छन् गोल्डकप प्रतियोगिता

इलाम,  । बर्षेनी पुर्वाञ्चलमा मात्रै ए डिभिजनका क्लबहरु समावेश भएका १ दर्जनका हाराहारीमा गोल्डकप प्रतियोगिता आयोजना हुन्छ । इलामको माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप, झापाको झापा गोल्डकप र सुरुङ्गा गोल्डकप, पाँचथरमा फाल्गुनन्द गोल्डकप, धरानको बुढासुब्बा गोल्डकप, धनकुटाको स्व.भिमनारायण श्रेष्ठ गोल्डकप, उदयपुरको कटारी गोल्डकप, विराटनगरको विराट गोल्डकप पुर्वमा हुने प्रतिष्ठित गोल्डकपहरुमा पर्दछन । यसका अतिरिक्त पुर्वाञ्चल बाहिर पोखराको आहारारा गोल्डकप, बाराको सिमरा गोल्डकप, बुटबलको तिलोत्तमा गोल्डकप, नेपालगञ्ज गोल्डकपमा सार्क राष्ट्रका मात्र नभइ अफ्रिकन मुलका खेलाडीहरुको समेत खेल कौशल देख्न पाइन्छ ।


झापा जिल्लामा मात्रै गत बर्ष १ लाख देखी ७ लाखसम्म पुरस्कार राखेर ५ वटा गोल्डकप प्रतियोगिताहरु संचालनमा भए । आयोजकहरु हरेक बर्ष उत्कृष्ट टिमहरुलाई सहभागी गराउन पुरस्कार राशी बढाउदै लग्न थालेका छन । इलामको माइभ्याली गोल्डकपको तेश्रो संस्करणमा पुरस्कार राशी ३ लाख बाट बढाएर ४ लाख पुर्याइयो  । पाँचथरको फाल्गुनन्द गोल्डकपमा गत संस्करणको बिजेता विर्ता युनाइटेडले २ लाख ५० हजार प्राप्त गर्यो । झापाको शिवसताक्षी नगरपालिकामा पहिलो पटक दुधे गोल्डकपको आयोजना भयो ।

त्यसै गरी कार्तिक २८ गतेबाट शिव सताक्षीमा नै दोश्रो सताक्षी गोल्डकप आयोजना हुने भएको छ । यस बर्ष सताक्षी गोल्डकपको पुरस्कर राशी लाई ३ लाखबाट बढाएर विजेतालाई ५ लाख रुपैया पुर्याइएको छ  । पहिलो संस्करणको झापा गोल्डकप विजेता बनेको विभागीय टोली त्रिभुवन आमीले ६ लाख रुपैया प्राप्त गरेकोमा दोश्रो संस्करणमा बिजेता बन्दा मनाङ मस्याङदीले ७ लाख रुपैया प्राप्त ग¥यो । २०७२ बाट सुरु भएको झापा गोल्डकप दोस्रो संस्करण २०७३ मा आइपुग्दा मोफसलकै सबैभन्दा ठूलो पुरस्कार राशि (विजेतालाई ७ लाख) को प्रतियोगितालाई बनेको थियो । झापा गोल्डकपलाई पछि पार्दै मंसिर ६ गतेबाट मोफसलकै सर्वाधिक राशीको मेची नेत्रालय काकँरभिट्टा गोल्डकप तेस्रो संस्करण हुदैछ । प्रतियोगितामा आयोजक सहित ए डिभिजनका ८ टिम र भारतको सुभाषचन्द्र बोइज क्लबको सहभागीता रहेको छ । प्रतियोगिताको बिजेताले आठ लाख एक हजार नगद , ट्रफि र प्रमाणपत्र , दोश्रोलाई चार लाख एक हजार , ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

नेपाली फुटबललाई नियमन गर्ने आधिकारिक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले बार्षिक क्यालेन्डरमा यि मध्ये केही प्रतियोगिताहरुलाई समावेश गरेर संचालनमा थोर बुहत सघाइरहेको छ । तर के आधारले यि प्रतियोगिताहरुलाई गोल्डकप भनेर संचालन गरियो त्यसको कुनै मापदण्ड एन्फासँग पनि छैन । कुन स्तरको प्रतियोगितालाई गोल्डकपको दर्जा दिने भन्ने बिषयमा एन्फाको स्पष्ट मापदण्ड छैन । एन्फाले सन २०१४ मा आधिकारिक रुपमा आयोजना गरेको १० लाख पुरस्कार राशीको प्रतियोगितालाई एन्फा कप भनिएको थियो तर मापदण्डको अभावमा गाँउ गाँउमा आयोजना हुने स–साना प्रतियोगिताको ब्यानरमा समेत गोल्डकप लेख्ने गरिएको छ । आयोजकहरुले ३० हजार माथीको पुरस्कार राशी राखेका प्रतियोगितालाई गोल्डकपको नाम दिएर संस्करणहरु संचालन गरिरहेका छन ।

इलामको माङसेवुङ गाँउपालिका इलाम, मोरङ र झापाका टिमहरुलाई समावेश गरेर गत माघमा पवित्रहाङ्मा महिला गोल्डकप खेलकुद प्रतियोगिता संचालन गरियो । २०६८ सालबाट निरन्तर किरात धर्मगुरुआमा पवित्रहाङ्मा साँवा लिङदेनको जन्मोत्सवको अवसरमा किरात साम्यो हक्चात यक्चुम बाँझोले प्रतियोगिता संचालन गर्छ । प्रतियोगिताको गत बर्ष सातौ संस्करण सम्पन्न गरियो । जसको विजेताले नगद ६१ हजार ६१ रुपैयाँ र उपविजेता टिमले नगद ३५ हजार ६१ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । 

फुटबलको हब मानिएको झापामा गोल्डकपहरु थपिने क्रम रोकिएको छैन । २०७२ सालबाट झापामा मेची नेत्रालय गोल्डकप र शरणामती गोल्डकप प्रतियोगिता थपिए । असोज ४ गतेबाट शिव सताक्षी नगरपालिकामा प्रथम दुधे गोल्डकप प्रतियोगिता थपियो । जसको बिजेताले नगद ३ लाख ५१ हजार पाउने भने उपविजेताले नगद १ लाख ५१ हजार ।

एन्फा भन्छ‘ मापदण्डको लागी ए डिभिजनका क्लबसँग छलफल गर्दै छौ’
देशभरमा २ दर्जनका हाराहारीमा गोल्डकप प्रतियोगिता संचालन भइरहँदा एन्फाले पनि गोल्डकपको मापदण्ड तय गर्न छलफल अघि बढाएको छ । एन्फा कार्यकारी समितीले गत बर्षबाट मापदण्डका बिषयमा घनिभुत छलफल अघि बढाएको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधारले बताए । उनले भने एन्फाले ‘मंसिर १४ गतेबाट राष्ट्रिय लिगको तयारी गरिरहेको छ । त्यसका लागी ए डिभिजनको मान्यता पाएका मोफसलका ४ सहित १६ टिमसँग छलफलपछि मापदण्ड तय गरिनेछ ।’
लिगमा सहभागी क्लबले अधिकतम ३ वटा गोल्डकपमा सहभागी हुन पाउने मापदण्ड तय गर्नको एन्फा लागि परेको तुलाधारले बताए । देशभर आयोजना हुने २ दर्जन बढी गोल्डकपहरुलाई प्रतियोगिताको स्तर अनुसार बर्गिकरण गरेर एन्फाको क्याल्यान्डरमा हाल्ने तयारी भइरहेको तुलाधारले बताए । झन्डै ६ महिनाभन्दा लामो समयसम्म लिग चल्ने भएकाले अनियन्त्रित रुपमा भइरहेका गोल्डकप प्रतियोगिताहरुमा ए डिभिजनका खेलाडीहरु सहभागी नभएपछि स्वत घटदै जाने तुलाधारको भनाई छ ।

मापदण्ड नहुँदा प्रतिष्ठित प्रतियोगिता फिक्का
माइभ्याली गोल्डकप आयोजक समितीका अध्यक्ष धिरेन चेम्जोङ मापदण्ड नभएपनि एन्फाले नै प्रतियोगिताको नाममा गोल्डकप राख्न लगाएको बताए । उनले भने ‘ हामी त माइभ्याली कपको नामबाट प्रतियोगिता आयोजना गर्न चाहान्थ्यौ तर एन्फाले प्रतियोगिताको नाममा गोल्डकप नराखे सुविधा कटौती गर्ने भनेपछि माइभ्याली गोल्डकप राख्नु परेको हो ’

अहिले गल्लीमा हुने खेललाई पनि गोल्डकप भनिदै आएपछि प्रतिष्ठित बुढासुब्वा, तिलोत्तमा जस्ता प्रतियोगिता फिक्का परेको चेम्जोङले बताए । चेम्जोङले न्युनतम गोल्डकप संचालनका लागी अन्तराष्ट्रिय स्तरको खेलमैदान, ए डिभिजनका टिम र खेलाडीहरुको सहभागिता तथा विदेशी टिमको अनिवार्य सहभागीता भएको प्रतियोगितलाई गोल्डकपको रुपमा राख्न एन्फा लाई सुझाव दिए ।

यता भरखरै ए डिभिजनको मान्यता पाएको मोफसलको क्लब झापा ११ का कप्तान प्रवेश कटुवाल पनि अचम्म मान्दै भन्छन, ‘ १ लाखको प्रतियोगिता पनि गोल्डकप अनि ७ लाखको पनि गोल्डकप  । ७ जना खेल्ने मिल्ने पनि गोल्डकप र ११ जना खेल्ने पनि गोल्डकप ’ फुटबल प्रतियोगितालाई आयोजकले फेसनको रुपमा लिएर गोल्डकप नामाकरण गर्ने गरेको उनको बुझाइ छ । ‘खेलप्रेमी तथा आम मानिसमा भने गोल्डकप भनिँदा ‘स्तरीय खेल प्रतियोगिता’ भन्ने बुझाइ छ ।’ झापालाई एन्फा कप दिलाइ सकेका कप्तान कटुवाल भन्छन ‘ राष्ट्रिय लिगबाहेक एन्फाले आयोजना गरेको १० लाख रुपैयाको प्रतियोगिता चाहिँ एन्फा कप, अरु सबै गोल्डकप !’

 

प्रतिक्रिया
सम्बन्धित समाचार