नयाँबजार । माईजोगमाई अध्यक्षकपको उद्धघाटन खेलमा माईजोगमाई निलो र माई नगरपालिका प्रतिस्पर्धा गर्ने भएका छन् । माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा माईजोगमाई खेलकुद परिषदले आयोजना गरेको प्रतियोगिताको पहिलो खेलमा मंसिर २१ गते घरेलु टोलीले माई नगरपालिकाको सामना गर्न लागेको हो ।
बालाचर्तुदर्शीको पावन अवसरमा बालागुरु खेलमैदानमा हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा माईजोगमाई निलो, माईजोगमाई रातो, माई नगरपालिका इलाम, रेडहर्स क्लब इलाम, पाँचथर फुटबल क्लब, गाडागल्ली इनोभेटिक सोसाइटी झापा, जनता सेभेन सूर्योदय र भारतको मानेभञ्ज्याङ एफसी सहभागि हुनेछन् ।
माईजोगमाई–१ नयाँबजारको बालागुरु खेलमैदानमा हुने प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको विधागत खेलाडीहरुलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक माईजोगमाई खेलकुद परिषदका अध्यक्ष देवेन्द्र पौडेलले जानकारी दिए ।
प्रतियोगिताको फाइनल खेल मंसिर २५ गते हुनेछ । गाउँपालिकाले यसअघि गत बैशाख ११ गतेबाट १८ गतेसम्म प्रतियोगिता आयोजना गर्ने तयारी गरेपनि कोभिडको संक्रमणका कारण अन्तिम चरणमा पुगेर रोकिएको थियो । गाउँपालिकाले यसअघि मंसिर १४ देखि १७ गतेसम्म वडाहरुको छनौट गरी आयोजक टोली तयार पारेको छ ।
खेलकुदको माध्यमबाट गाउँपालिकाको प्रर्वद्धन गर्न प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष जितबहादुर राईले बताए । जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष समेत रहेका राईले प्रतियोगिताको आयोजनाबाट गाउँपालिका क्षेत्रको प्रचारपसारमा सहयोग पुग्ने अपेक्षा राखिएको बताए ।
