Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

इलामको रोङ र काठमाडौँले अंक बाडे

इलामको रोङ र काठमाडौँले अंक बाडे

  • सन्देश सम्वाददाता
  • आइतबार, कार्तिक ७ २०७८


इलामको रोङ र काठमाडौँले अंक बाडे

इलाम : उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा इलामको रोङ गाउँपालिकाले काठमाडौं महानगरपालिकासँग बराबरी खेलेको छ। एन्फा कम्प्लेक्समा भएको आफ्नो पहिलो खेलमा रोङले काठमाडौसँग गोलरहित बराबरी खेलेको हो। दुवै टोलीले केही राम्रा अवसरलाई गोलमा परिणत गर्न नसक्दा १/१ अंक बाँडेका छन्।

रोङको टिम नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर दिपा राई र इन्दिरा राई, डिफेन्डर विमला बिक र गोलरक्षक रूपा रानासहित मैदान उत्रिएको थियो। खेलको प्लेयर अफ दि म्याच रोङकी डिफेन्डर बिमला विक घोषित भइन् । अखिल नेपाल फुटबल संघको आयोजनामा कात्तिक ४ गते सुरु प्रतियोगितामा रोङले अब ९ गते सिमीकोट गाउँपालिकासँग खेल्ने छ।

यसअघि गत ५ गते सिमीकोट र काठमाडौंबीच प्रतिस्पर्धा हुने तय भए पनि खेल ११ गतेलाई सारिएको छ।  प्रतियोगितामा कुल ३१ पालिकाको सहभागिता रहेको छ। छनोट प्रतियोगिताबाट २ वटा टिमले राष्ट्रिय महिला लिग खेल्नेछन्। एन्फाले राष्ट्रिय लिगमा यसअघि ३ विभागीय क्लब (त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लब) र मोफसलका वालिङ नगरपालिका स्याङ्जा, विराटनगर महानगरपालिका मोरङ, चन्द्रपुर नगरपालिका रौतहटलाई सीधै राष्ट्रिय लिगमा प्रवेश दिएको छ।

गत वर्ष राष्ट्रिय लिगमा खराब प्रदर्शन गरेको चौदण्डीगढी नगरपालिका उदयपुरले भने यसपटक छनोट खेल खेल्दैछ। एउटा टिमले ४ जनासम्म विभागीय खेलाडीसमेत अनुबन्ध गरेर सहभागी हुन पाउने नियम एन्फाले बनाएपछि अहिले रोङ गाउँपालिकाले आर्मीबाट ३ जना र सशस्त्र प्रहरीको गोलरक्षकलाई खेलाएको छ।

नियमअनुसार छनोट भएका दुई टिमका खेलाडीले राष्ट्रिय लिगमा सोही क्लबबाट खेल्नुपर्ने र विभागबाट आएका खेलाडीको हकमा भने विभागीय खेलाडी क्लबमा फर्कन पाउने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार