Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

राम कार्की भन्छन्  विश्वप्रकाश खाली झापाका हुन्

राम कार्की भन्छन्  विश्वप्रकाश खाली झापाका हुन्

  • लोकल सन्देश
  • सोमबार, कार्तिक २० २०७४


राम कार्की भन्छन्  विश्वप्रकाश खाली झापाका हुन्

झापा । झापा क्षेत्र नम्बर १ मा हुने दुई ‘बौद्धिक’ नेताबीचको प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ । कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा र वाम गठबन्धनबाट माओवादी नेता राम कार्कीबीच झापा १ मा प्रतिस्पर्धा हुने भएपछि यो क्षेत्र अहिले चर्चामा छ ।

राजनीतिक वृत्तमा दुरदृष्टि र बौद्धिक नेताका रुपमा परिचय भएका यी दुई नेताबीचको चुनावी भिडन्त अत्यन्त रोचक हुने अनुमान गरिएको छ । केही दिनअघि पूर्वसञ्चारमन्त्री कार्की झापा २ मा उठ्ने चर्चा चलेको थियो । तर, पछि फेरि उनी झापा१ बाट उठे ।

शर्माले पनि झापा ५ मा एमाले अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गर्ने बताइएको थियो । तर, कांग्रेसले त्यहाँ डा खगेन्द्र अधिकारीलाई उठायो र विश्वप्रकाशलाई क्षेत्र नम्बर १ मा पठायो ।

स्थानीय चुनावको अंकगणितमा कांग्रेस पछाडि

झापा क्षेत्र नं। १ मा मेचीनगर नगरपालिकासहित भद्रपुरको वडा नं। ९, १० र बुद्धशान्ति गाउँपालिकाको वडा नं। ४, ५, ६ र ८ पर्छ । यहाँको जम्मा मतदाता सङ्ख्या १ लाख ९ हजार ६ सय ७६ छ ।

स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मान्दा यहाँ नेपाली कांग्रेसको २५ हजार ५ सय १ मत छ भने एमालेको २५ हजार ६३ मत छ । त्यसैगरी माओवादी केन्द्रको ९ हजार ८ सय ८८ मत छ ।

यो मतलाई आधार मान्ने हो भने झापा १ मा बाम गठबन्धनको ३४ हजार ९ सय ५१ मत पुग्छ । राप्रपाको १ हजार ३ सय ३३ र संघीय समाजवादी फोरमको ४ सय ७० मत छ । यो परिणामलाई आधार मान्दा यहाँ वाम गठबन्धन ९ हजार ४ सय ५० मतले कांग्रेसभन्दा अगाडि छ ।

विश्वप्रकाशः ‘टुरिष्ट’देखि लोकलसम्म

कांग्रेस नेता विश्वप्रकाश शर्मा युवा पुस्तामाझ लोकप्रिय छन् । नेता शर्मा धुलाबारीका स्थायी बासिन्दा हुन् । उनी ०७० सालको निर्वाचनमा एमालेका उम्मेदवार रविन कोइरालासँग ६ सय ८९ मतान्तरले पराजित भएका थिए । ‘त्यतिवेला कांग्रेस र राप्रपाको मात्रै १ हजार १ सय ४४ मत बदर भएको थियो’, उनले अनलाइनखबरसँग भने, ‘प्राविधिक रुपमा मात्र मेरो पराजय हो ।’ त्यसवेला विश्वप्रकाशलाई अधिकांश समय काठमाडौं बसेको भन्दै स्थानीयले ‘टुरिष्ट’ उम्मेदवारको संज्ञा दिएका थिए । त्यसपछि उनले जिल्लामा आफ्नो सक्रियतालाई बढाए । र, गाउँमा विकासका गतिविधिहरुलाई अघि बढाए । यद्यपि, ०७० सालमा कांग्रेस नेता शर्मालाई भिराइएको ‘टुरिष्ट’ उम्मेदवारको उपमा अहिले स्थानीयले माओवादी उम्मेदवार कार्कीलाई भिराउने सम्भावना छ ।

झापासँग भावनात्मकरुपमा जोडिएको छुः कार्की

वाम गठबन्धनबाट उम्मेदवार बनेका सुरेन्द्र कार्की अर्थात राम कार्की ०७० सालमा समानुपातिकतर्फबाट संसदमा निर्वाचित भएका थिए । त्यसअघि उनी ०६४ सालको निर्वाचनमा ताप्लेजुङ क्षेत्र नं  १ बाट पराजित भएका थिए । ओखलढुंगा पुख्र्यौली थलो भएका कार्की भूमिगतकालमा झापामा बसेका थिए । त्यसयता पनि उनको झापा आगमन बाक्लै भइरह्यो । ‘म लामो समयसम्म पार्टीको मेची अञ्चल इञ्चार्ज भएर रहेँ । जनयुद्धअघि पनि र पछि पनि’, कार्कीले भने, ‘मन्त्री हुनुअघिसम्म पनि म प्रदेश नं। १ को इञ्चार्ज थिएँ ।’

आफूले विवाह गरेर श्रीमती भित्र्याएको ठाउँ पनि झापाको मागुरमाणि भएको भन्दै झापासँग भावनात्मक सम्बन्ध रहेको माओवादी नेता कार्कीले अनलाइनखबरलाई बताए । त्यतिबेला आफ्नो मुख्य केन्द्र झापा नै रहेको कार्की बताउँछन् । बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा कार्कीको अचल सम्पत्तिसमेत छ ।

जित सुनिश्चित भएको आ आफ्नै दाबी

स्थानीय चुनावको अङ्कगणित र वाम गठबन्धनपछि जनतामा आएको उत्साहले कार्कीको जित निश्चित भएको माओवादी नेताहरु बताउँछन् ।

युवामाझ लोकप्रिय भएकाले विश्वप्रकाशले जित्ने कांग्रेस कार्यकर्ताको दाबी छ । कांग्रेसका नेताहरु झापा १ मा आयातीत प्रतिद्वन्द्वी भएका कारण आफूहरुको जीत सहज भएको दाबी गर्छन् । मेचीनगर र बुद्धशान्ति गाउँपालिकामा कांग्रेस उम्मेदवार विजयी हुनले पनि आफ्नो पक्षमा लहर सिर्जना गरेको विश्वप्रकाशको दाबी छ । ‘मेचीनगरमा हाम्रा उम्मेदवार विमल आचार्य र बुद्धशान्तिमा रमेश भुजेलले जित्नुभएको छ’, शर्मा भन्छन्, ‘यो कुनै न कुनै रुपमा विश्वप्रकाश शर्माको जितको आधार नै हो ।’

झापा १ मा साना दलहरुलाई आफ्नो पक्षमा पारेर वाम गठबन्धनलाई उछिन्ने दाउ पनि कांग्रेसको छ । घोषितरुपमा नभए पनि संघीय समाजवादी फोरम, लिम्बुवान, राप्रपा प्रजातान्त्रिक लगायतका साना दलले पनि आफूहरुलाई समर्थन गर्ने कांग्रेस नेताहरुको दाबी छ । माओवादी केन्द्रबाट प्रतिनिधिसभामा मेची अञ्चलमै आफू एकमात्रै उम्मेदवार भएकाले एमाले कार्यकर्ताका लागि पनि नैतिक परीक्षाको घडी भएको राम कार्कीले बताए ।

स्थानीय चुनावको परिणामका साथै झापा जिल्ला वामपन्थीहरुको किल्ला भएकाले पनि आफ्नो जित निश्चित भएको कार्कीले बताए । नेपाली कांग्रेसभित्र विश्वप्रकाश शर्माको परीक्षा हुन बाँकी नै रहेको कार्कीले बताए ।

‘पद नपाएको हुनाले उहाँको परीक्षा हुन बाँकी छ’, कार्कीले अनलाइनखबरसँग भने, ‘पार्टीमा पाएको पद पनि सदुपयोग भएको छैन ।’ ‘पार्टीभित्र जतिबेला ५० लाख रुपैयाँ एकैचोटि दिने कुरामा होस्, चाहे नीतिमा गडबडी गर्दा होस्, सन्धी सम्झौतामा गर्दा होस्, वा कलकारखानाहरु जिम्मा लगाउँदा होस् या उद्योग धन्दा चौपट गर्दा होस् कतै उनले बोलेको सुनिँदैन’, कार्कीले विश्वप्रकाशको आलोचना गर्दै भने, ‘कांग्रेसलाई प्रजातान्त्रिक समाजवादको धारमा लैजाने भन्ने नै देख्दिनँ म, त्यसैले उनी खाली झापाका हुन् ।’ अनलाइनखबरबाट

प्रतिक्रिया
सम्बन्धित समाचार