इलाम। नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।नेपालले घरेलु मैदान त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका साढे ५ बजे हुनेछ । नेपाल र भारतबीचको पहिलो खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।
पहिलो मैत्रीपूर्ण खेलमा नेपालका लागि अन्जन विष्टले गोलको खाता खोलेका थिए । भारतका गोलकिपरको सानो गल्तीको फाइदा उठाउँदै अन्जनले रित्तो पोष्टमा गोल गरेका थिए । उनले खेलको ३६औँ मिनेटमा गोल गरी १(० गोलको अग्रता दिलाएका थिए ।तर, खेलको ६०औँ मिनेटमा आइपुग्दा नेपालले अग्रता जोगाउन नसक्दा खेल बराबरीमा पुगेको थियो । भारतीय कप्तान सुनिल क्षेत्रीको प्रहारलाई नेपालका गोलकिपर किरण चेम्जोङले पञ्च गरे पनि गोल हुनबाट जोगाउन सकेनन् ।
उनको हातबाट फुत्किएको बललाई भारतका सब्सिच्यूट खेलाडी अनिरुद थापाले नियन्त्रणमा लिँदै गोलपोस्टको दिशा दिएका थिए । हारको सम्भावना टरेको खेलमा नेपाल बराबरीमा रोकिँदा जीतको सम्भावनालाई खेर फाल्न पुगेको थियो ।माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । साफ च्याम्पियनसिप आउँदो असोज १५ देखि ३० गतेसम्म हुँदैछ ।