Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नरबहादुर कर्माचार्य स्मृति शिक्षालयद्वारा सुलभ शुल्कमा प्राविधिक शिक्षा

नरबहादुर कर्माचार्य स्मृति शिक्षालयद्वारा सुलभ शुल्कमा प्राविधिक शिक्षा

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र ५ २०७८


नरबहादुर कर्माचार्य स्मृति शिक्षालयद्वारा सुलभ शुल्कमा प्राविधिक शिक्षा

इलाम । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान सुनसरीले इटहरीमा शुलभ शुल्कमा प्राविधिक शिक्षा अध्यापनलाई अघि बढाएको छ । गत बर्ष प्रतिष्ठानले स्थापना गरेको नरबहादुर कर्माचार्य स्मृति शिक्षालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीइभीटी) को सम्बन्धनमा तीन वर्षे डिप्लोमा तहको सिभिल इन्जिनियरिङ, होटल म्यानेजमेन्ट र एग्रीकल्चर विषयको अध्यापन गराउन थालेको हो ।

एसीसहितको कक्षाकोठा, अत्याधुनिक प्रयोगशाला, छात्रवृत्तिको व्यवस्थाका साथै सुलभ शुल्कमा सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक सीपको विकासका लागि विद्यार्थीलाई सरकारी तथा नीजि र सामुदायिक आयोजना एवं कार्यालयमा इन्टर्नसीपको सुविधा प्रदान गरिने शिक्षालयले जनाएको छ । सुविधासम्पन्न एवं आधुनिक बहुप्राविधिक शिक्षालय निर्माण गरी स्थानीय, प्रादेशिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय आवश्यकता अनुसार प्राविधिक शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै मध्यम तहको दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ यी कार्यक्रमहरु सञ्चालनमा ल्याइएको हो ।

विभिन्न क्षेत्रमा देशलाई आवश्यक दक्ष प्राविधिक जनशक्तिको उत्पादन गर्न प्राविधिक शिक्षालयको स्थापना र सञ्चालन गर्ने, रोजगारमूलक तथा व्यावसायिक तालिम र प्रशिक्षण दिई सीपयुक्त जनशक्ति निर्माण गर्ने, बेरोजगार जनशक्तिलाई प्राविधिक ज्ञान र सीप प्रदान गरि उद्यमशील र व्यावसायिक बनाउने तथा शुलभ शुल्कमा प्राविधिक शिक्षा दिई सर्वसाधारणमा पहुँच अभिवृद्धि गर्ने शिक्षालयको उद्देश्य रहेको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका सुनसरी जिल्ला अध्यक्ष निर्मल बरालले बताए ।

यसका अतिरिक्त नरबहादुर कर्माचार्यको स्मृतिमा विभिन्न रचनात्मक एवं जनसेवाका कार्यक्रमहरु सञ्चालन गर्ने र मुलुकको लोकतान्त्रिक, सामाजिक परिवर्तनको आन्दोलनमा विशिष्ट योगदान पुर्याउने ब्यक्तिहरुको योगदानको सम्मान र कदर गर्ने पनि शिक्षालयको उद्देश्य रहेको बरालको भनाइ छ । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान नेपालको लोकतान्त्रिक तथा सामाजिक परिवर्तनको आन्दोलनका एक सम्मानित ब्यक्तित्वको स्मृतिमा स्थापित सामुदायिक सामाजिक संस्था रहेको उल्लेख गर्दै प्रतिष्ठानका सचिव बहादुरसिंह (ज्वाला) तामाङले यस प्रतिष्ठानले समुदायका आधारभूत तह सम्मका नागरिकको आर्थिक जीवनमा परिवर्तन ल्याउन तथा सामाजिक परिवर्तनको अभियानलाई आफ्नो उदेश्य अनुरुप निरन्तर सहयोग पुर्याउँदै आएको बताए ।

यसैगरी, नेपाल सरकारको प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (सीटीइभीटी) द्वारा निर्मित होटल म्यानेजमेन्ट कार्यक्रमले आतिथ्य र पर्यटन उद्योग को क्षेत्रमा विद्यार्थीलाई विस्तृत दायरा प्रदान गर्ने शिक्षालयको भनाइ छ । फिक्कलमा सन्देशकर्मीसंग कुरा गर्दै अध्यक्ष बरालले इलाम पर्यटकीय जिल्ला भएकाले होटल मेनेजमेन्ट अध्ययनको लागि शिक्षालय प्लेटफर्म भएको बताए । यो कार्यक्रमले विद्यार्थीलाई कुनै पनि होटेल वा पर्यटन क्षेत्रमा आफ्नो अवसर आफै सिर्जना गर्न मद्दत गर्ने र विद्यार्थीलाई सीपयुक्त जनशक्ति बनाउने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन तथा होटल उद्योगमा रोजगारीको अवसर दिने बरालले बताए ।

यसको अध्ययनपछि फ्रन अफिस म्यानेजर, रेष्टुरेन्ट म्यानेजर, हाउस किपिङ म्यानेजर, सुपरभाइजर, क्रुजसिप म्यानेजर सेफजस्ता क्षेत्रमा रोजगारीको अवसर प्राप्त हुने सम्भावना रहन्छ । ३ बर्षे कोर्स रहेको होटल म्यानेजमेन्ट ६ सेमेस्टरमा अध्यापन हुने जनाइएको छ । नेपाल सरकारको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) द्वारा निर्मित व्यवहारिक र अद्यावधिक पाठ्यक्रममा अध्यापन गराइने सिभिल इन्जिनियरिङ बहुउपयोगी शैक्षिक कार्यक्रम रहेको शिक्षालयको भनाइ छ ।

यसको अध्ययनपछि कन्स्ट्रक्सन म्यानेजमेन्ट, जियो–टेक्निकल इन्जिनियरिङ, पब्लिक वर्कस इन्जिनियरिङ, स्ट्रक्चरल इन्जिनियरिङ, ट्रान्स्पोर्टेसन इन्जिनियरिङ, वाटर रिसोर्स इन्जिनियरिङजस्ता क्षेत्रमा रोजगारीको अवसर पाइने कलेजले जनाएको छ । यस्तै, कृषि बाली विज्ञानको अध्ययनपछि क्वालिटि एस्युरेन्स टेक्निसियन, प्रोडक्सन टेक्निसियन, अपरेसन टेक्निसियन, फार्म एक्सपर्ट, प्लान्टेसन एसिस्टेन्ट म्यानेजर,फर्टिलाइजर म्यानुफ्याक्चरिङ टेक्निसियन, एग्रीकल्चरल मसिनरी इन्डष्ट्रिज टेक्निसियनजस्ता क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी पाइने शिक्षालयले जनाएको छ ।

शिक्षालयको उद्धघाटन गत बर्ष तत्कालिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गरेका थिए । सिभिल इन्जिनियरिङको अध्ययनको लागि एसएलसी वा एसईईमा गणित र विज्ञान विषयमा न्युनतम सी ग्रेड र अंग्रेजीमा डि प्लस प्राप्त गरेको हुनुपर्ने जनाइएको छ । एग्रिकल्चर र होटल म्यानेजमेन्टका लागि एसएलसी वा एसईईमा गणित, विज्ञान र अंग्रेजी मध्ये कुनै २ बिषयमा न्युनतम सी ग्रेड र एउटा बिषयमा डी प्लस प्राप्त गरेको हुनुपर्ने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार