इलाम : इलाममा आगामी साउन २५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले आदेश जारी गर्दै निषेधाज्ञा थप गरेको जनाएका हुन् । आदेशमा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अन्तर्गत साउन १५ गते मध्यराती १२ बजेबाट लागु हुने गरी साउन २५ गते मध्यराती १२ बजेसम्म जिल्ला भरी लागु हुने गरी निषेधाज्ञा लागु गरिएको जनाइएको छ ।
यसअघि जारी गरिएको निषेधाज्ञा आदेशमा उल्लेख भएका सवै यथावत रहेका जनाइएको छ । अत्यावश्यक बस्तु र सेवाको आपुर्तिमा कृत्रिम अभाव सिर्जना गरी मुल्यवृद्धि गर्ने वा लुकाउने, आपुर्तिमा अवरोध गर्ने उपर कानुनी कारवाही चालिने छ ।
आदेशको उल्लंघन गरेको खण्डमा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफ १९ वा २१, २२ र २४ तथा अन्य प्रचलित कानुन बमोजिम कारवाही र जरिवाना समेत हुने उल्लेख गरिएको छ । आदेशको पालना गर्न व्यक्ति, संघसंस्था, पेशाकर्मी, व्यवसायी तथा आम नागरिकहरुको कर्तव्य रहेकाले सहयोग पुग्ने विश्वास लिइएको छ ।


