इलाम । लोकसेवा आयोगले लिने कृषिका परिक्षामा सहभागि हुन पाउनुपर्ने माग राख्दै इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस (मरब) का बागवानी संकायमा विद्यार्थी आन्दोलित भएका छन् । लोकसेवा आयोगले लिने कृषिका विभिन्न बिषयमा क्रेडिट आवर पुग्दा पनि समावेश हुन नपाउने भएपछि विद्यार्थी आन्दोलित बनेका हुन् ।
उनीहरुले कृषि सेवा समूह बागवानी, कृषि प्रसार, बाली संरक्षण, माटो विज्ञान र बाली विकासमा लोकसेवा सुनिश्चिता हुनुपर्ने, मापदण्ड पुगेका विषयहरुमा कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट एमएस्सी एग्रिकल्चर गर्न पाउनुपर्ने २ बुँदे माग राखेका छन् ।
विद्यार्थीहरुले माग लेखिएको ब्यानर क्याम्पको गेटमा राखेर विरोध जनाएको वागवानी संघर्ष समितिकी सचिव महिमा गौतमले बताइन् । उनले बागवानीमा पढाई हुने विषयमा क्रेडिट आवर पुगे पनि लोकसेवा आयोगले लिने परीक्षामा बीएसी हर्टिकल्चर समावेश हुन नसक्दा समस्यामा परेकाे बताइन् । माग सम्बोधन नहुदासम्म चरणबद्द रचनात्मक आन्दोलनलाई निरन्तरता दिने भन्दै विद्यार्थीहरुले क्याम्पस प्रशासन समक्ष विज्ञप्ती बुझाएका छन् ।

माग सम्बोधन नभए चरणबद्ध आन्दोलनको रुपमा ब्यानरमा आफ्ना मुद्दाहरु लेखेर गेटमा राख्ने, कालो पट्टि बाधेर प्रशासन अगाडि धर्ना बस्ने, दिउँसै क्यान्डल बाल्ने, पोस्टर पर्दशनी गरेर कलेज कम्पाउन्डतिर राख्ने, बालुवामा पानी खन्याउने र नाटक प्रस्तुत गर्ने तय भएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत अटोनमी क्याम्पसमा आफै पाठ्यक्रम निर्माण गरि बागवानी संकायको पठनपाठन सुरु भएको थियो । तर लोकसेवा लिने कृषिको परिक्षामा सहभागिता जनाउन नपाउँदा मर्कामा परेको विद्यार्थीहरुले गुनासो राख्दै आएका छन् ।