फिक्कल । झापासँग सिमाना जोडिएको इलामको चुलाचुली गाउँपालिकाले नवौ गाउँसभाको तयारीलाई तिब्र बनाएको छ । असार ७ गतेबाट आगामी आर्थिक बर्ष २०७८/७९ को बजेट विनियोजनाका लागि गाउँसभाको आयोजनाको मिति तोकेको हाे । चुलाचुलीले शाखागत योजनाहरु छनौँट सम्पन्न गरि वडागत योजनाहरुको कार्यलाई अघि बढाएको प्रमुख प्रशासकिय अधिकृत काजीमान राईले बताए ।
उनका अनुसार चुलाचुलीले कोभिड विपद नियन्त्रण र स्वास्थ्यमा १ करोड ५० लाख रुपैया बजेट विनियोजन गरेको छ । शिक्षामा १ करोड १५ लाख, कृषिमा १ करोड र पशु क्षेत्रमा ५० लाख रुपैया विनियोजन गरिएको छ । गाउँपालिको आगामी आर्थिक बर्षमा ४ वटा वडामा कालोपत्रेको कार्यलाई अघि बढाउन २ करोड २० लाख रुपैया विनियोजन गरिएको छ । वडा नं १, २, ५ र ६ नम्बर वडालाई कालोपत्रेका लागि जनही ५५ लाख रुपैया विनियोजना भएको राईले जानकारी दिए ।
भोलीसम्म वडागत रुपमा छनौट भएका योजनाका खाकाहरु गाउँपालिकाका आइसक्ने प्रमुख प्रशासकिय अधिकृत राईले बताए । चुलाचुलीले १५ शय्याको अस्पताल निर्माण कार्यलाई समेत तिब्रता दिएको छ । गाउँपालिकाका आगामी बर्षसम्ममा प्रशासकिय भवन पुर्ण रुपमा निर्माण सम्पन्न गर्नका लागि बजेट विनियोजना भएको छ । कृषिको क्षेत्रमा कोल्ड च्याम्बर निर्माणको लागि समपुरक अनुदानबाट प्राप्त ११ लाखमा गाउँपालिकाले ५० प्रतिशत लागत (११ लाख) रुपैया थप गरेर आगामी आर्थिक बर्षमा निर्माण गर्नका लागि बजेट विनियोजना गरिएको छ ।
प्रदेश सरकारको लगानीमा क्रमागत योजनाको रुपमा रहेको वडा नं २ र ४ को कालोपत्रे योजनालाई मुख्य प्राथमिकताम राखिएको छ । राष्ट्रिय योजना आयोगबाट स्विकृत भई १ करोड ४० लाख रुपैया बजेट आएको चुलाचुली मार्गका लागि आगामी आर्थिक बर्ष २०७८÷०७९ मा गाउँपालिकाबाट १ करोड ४० लाख थप गरि अगाडी बढाइने भएको राईले जानकारी दिए ।