काठमाडौं । करिब एक अर्ब ३७ करोड व्यक्ति बसोबास गर्ने चीनमा सात व्यक्ति सबैभन्दा बढी शक्तिशाली मानिन्छन्। एकदलीय शासन व्यवस्था भएको चीनका ती शक्तिशाली व्यक्ति हुन्, चिनियाँ कम्युनिस्ट पार्टी स्थायी समिति (पोलिटब्युरो स्ट्यान्डिङ समिति) सदस्य।
प्रत्येक पाँच वर्षमा स्थायी समिति सदस्य चुनिने प्रचलन छ। जसमा कोही दोहोरिने गरेका छन्। विश्वको सर्वाधिक जनसंख्या भएको चीनमा यहीँबाट राष्ट्रको नेतृत्व गर्ने व्यक्ति चुनिने गरेका छन्। यसपालि सात सदस्यीय स्थायी समितिलाई विस्तार गर्दै नौ सदस्यीय बनाउने चर्चा छ।
१. सी जिनपिङ

नौ करोड संगठित सदस्य भएको चिनियाँ कम्युनिस्ट पार्टीमा बलियो प्रभाव बनाएका व्यक्ति हुन्, सी जिनपिङ। सन् २०१२ को महाधिवेशनबाट महासचिवमा चुनिएका सिले आफ्नो प्रभावलाई थप सशक्त बनाएका छन्। जारी महाधिवेशनले उनको राजनीतिक विचारलाई सर्वसम्मत अनुमोदन गर्दै चीनमा ‘सी जिनपिङवाद’ रहने प्रस्ताव पारित गरेको छ।
सी यस्ता नेता हुन्, जसले आफ्नो आन्तरिक र बाह्य प्रभावलाई सन्तुलित ढंगले अगाडि लैजान सफल भएका छन्। उनी चीनभित्र जति शक्तिशाली मानिन्छन्, बाहिर पनि उनको प्रभाव उत्तिकै छ। संगठनमा अनुदार नेताका रुपमा स्थापित सी थप पाँच वर्षको लागि राष्ट्रपति हुँदैछन्। दोस्रो कार्यकालमा पनि उनी थप सशक्त भएर मुखरित हुने आशा गरिएको छ।
चीनको संविधानले एकै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न रोक लगाएको छ। तर, पार्टी नेतृत्वमा भने कुनै हदबन्दी छैन। त्यसैले उनी राष्ट्रपतिको आगामी कार्यकाल सम्पन्न गरेर अवकाश पाउँदा समेत पार्टीको महासचिवमा यथावत रहनेछन्।
२. ली खछियाङ्

चिनियाँ प्रधानमन्त्री ली खछियाङ्ले कुनै बेला दुर्भाग्य बेहोरेका थिए। पूर्व राष्ट्रपति हु जिनतावोको पालामा छायाँ परेका लीको चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिमा दरिलो पुनरोदय भयो।
उनी राष्ट्रपति सीका अति विश्वासपात्र मानिन्छन्। अर्थशास्त्रमा खप्पिस ६२ वर्षीय लिले चीनको आर्थिक अवस्था कायापलट गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको हुनाले राष्ट्रपति सी उनलाई गुमाउने पक्षमा छैनन्। हु जिनतावोको पालामा राजनीतिक रिङबाट अलगिएका उनले सीलाई शक्तिशाली बनाउन निकै सहयोग गरे। यद्यपि सीप्रति बफादार भएकै कारण उनी स्थायी समितिमा अटाएका होइनन्, अर्थतन्त्रलाई दरिलो बनाउने स्पष्ट भिजन भएका कारण उनी चिनियाँ सञ्चारमाध्यममा पनि चर्चित छन्। त्यसैले राष्ट्रपति सी आफ्ना प्रधानमन्त्रीलाई गुमाउने पक्षमा थिएनन्।
३. चेन माइनर

चेन माइनर चिनियाँ कम्युनिस्ट पार्टीका उदाउँदा नेता हुन्। चीनको पूर्वी प्रदेश झेइझ्याङको प्रमुख भइसकेका माइनर पनि सीका निकटस्थ मध्येमा पर्छन्। झेइझ्याङको प्रमुख हुँदा राम्रो कार्यसम्पादन गरेकाले पार्टीले उनलाई चीनको गरिब प्रदेश मध्येको एक ग्वोझोका लागि सिफारिस गरेको थियो।
प्रदेशको अवस्था सुदृढ गर्न माइनरले महत्वपूर्ण योगदान पुर्याएका थिए। माइनरलाई भावी प्रधानमन्त्रीका रुपमा पनि हेरिएको छ। राष्ट्रपति सीले स्थायी समितिमा तानेर उनलाई प्रधानमन्त्री बनाए, चिनियाँ युवालाई प्रेरणा मिल्ने चर्चा चीनमा छ। स्थायी समिति सदस्य समेत नभएको अवस्थामा सीले ५७ वर्षीय माइनरलाई प्रधानमन्त्री बनाए, उनको दोस्रो कार्यकालको महत्वपूर्ण र लोकप्रिय निर्णय हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।
४. हान जेङ्

चिनियाँ कम्युनिस्ट पार्टीमा सदाबहार चर्चित नेता हुन्, हान जेङ्। उनको लोकप्रियताको ग्राफ राष्ट्रपति सीको विपक्षीका पालामा पनि घटेन। सीको पालामा पनि कुनै कमी आएको छैन। उनी चिनियाँ कम्युनिस्ट पार्टी संघाईका प्रमुख हुन्। ६३ वर्षे हानले संघाईको मेयर भएपछि चामत्कारिक काम गरे। चीनको ठूलो सहरलाई उनले विश्वकै व्यापारिक केन्द्रको रुपमा स्थापित गराए। वर्तमान राष्ट्रपति सीको पालामा उनी सात महिना मात्र मेयर बनेका थिए। उनलाई पनि प्रधानमन्त्रीको प्रबल दाबेदारको रुपमा हेरिएको छ। तर हानलाई स्थायी समिति सदस्य बनाउँदै सीले अर्थमन्त्रीको जिम्मेवारी दिने सम्भावना प्रबल छ।
५. हु चुनह्वा

पूर्व राष्ट्रपति हु जिनतावोसँग थर मिल्ने भए पनि हु चुनह्वा उनका नातेदार होइनन्। चीनका समृद्ध प्रदेश मध्येका एक ग्वानदोङ् पार्टी प्रमुख हुन्, उनी। ५४ वर्षका चर्चित नेता हु चुनह्वाले अबको एक दशकमा चीनका राष्ट्रपति सीको स्थान लिने चर्चा पार्टीभित्र छ। सीको दोस्रो कार्यकालमा आफ्नो ‘स्टारडम’ अझै बढाउने पक्षमा हु छन्। पार्टीभित्र र जनतामाझ रहेको ‘स्टारडम’ का कारण सीले हु चुनह्वालाई स्थायी समिति सदस्यमा तान्न चाहेका छन्।
६. ली झान्सु

ली झान्सु राष्ट्रपति सीका दाहिने हात मानिन्छन्। हेवे प्रदेशको प्रमुखमा सी हुँदा उनीहरुको मित्रता झाँगिएको हो। प्रादेशिक स्तरको महत्वपूर्ण पदमा रहेका ली ग्हुजोउ प्रदेशको पार्टी प्रमुख समेत भइसकेका व्यक्ति हुन्। सन् २०१२ मा पार्टीको महासचिव भएपछि सीले उनलाई आफ्नो सचिवालयमा तानेका थिए। उनी विवादमा पनि मुछिए। राष्ट्रपति सीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिँदा ली नै भ्रष्टाचारी नेता भएको समाचार चिनियाँ सञ्चारमाध्यममा छायो। उनले अकूत सम्पत्ति आर्जन गरेको समाचार प्रकाशित भएका थिए।
त्यति बेला राष्ट्रपति सीले ली झान्सुलाई कारबाही गरेनन्। उनलाई राजनीतिक तवरबाट समाप्त गर्न समाचार प्रकाशित गरिएको थियो वा वास्तवमै उनी समाचारमा भनिएजस्तै माफिया हुन्? चीनमा अझै विवाद छ।
छवि विवादास्पद भए पनि सीले उनलाई स्थायी समितिमा तान्ने निश्चित झैँ छ।
७. वाङ् हुनिङ्

वाङ् हुनिङ सफल रणनीतिकारका रुपमा परिचित नेता हुन्। प्राध्यापक समेत रहेका उनले चीनको प्रशासनिक सहर झोङ्कनानहीमा १५ वर्ष सेवा गरिसकेका छन्। उनी तीन वटा राष्ट्रपतिका राजनीतिक र प्रशासनिक सल्लाहकार बसिसकेका छन्। ६२ वर्षीय वाङ्क हुनिङ् राष्ट्रपति सीका हरेक वैदेशिक भ्रमणमा सँगै हुन्छन्। विदेश मामिलामा समेत उनले दख्खल राख्ने भएकाले सीले उनलाई आफ्नो भ्रमण टोलीमा सधैँ समावेश गर्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
राजनीति, अर्थ नीति र विदेश नीतिमा दख्खल राख्ने वाङ्देखि प्रभावित भएर पूर्व राष्ट्रपति जियाङ्कले सन् १९९५ मा उनलाई बेइजिङ तानेका थिए। त्यसयता वाङ्ले बेइजिङ छोड्नुपरेको छैन। चिनियाँ राजनीतिको केन्द्रमा उनी सधैँ हुन्छन्। शासनका लागि आवश्यक मुख्य नीतिमा दख्खल राख्ने भएकाले स्थायी समिति सदस्यमा उनलाई जसरी पनि राख्ने तयारी सीले गरेका छन्।
अन्य नेताहरु
वाङ् याङ्

चिनियाँ उपप्रधानमन्त्री वाङ् याङ् सुधारोन्मुख नेता हुन्। उनी कूटनीतिमा समेत अब्बल मानिन्छन्। चीन र अमेरिकाबीच सम्बन्ध बिग्रँदा व्यापारमा असर पुग्थ्यो। यस्तो अवस्थामा सम्बन्ध सुधार गरेर व्यापारलाई बढोत्तरी दिन वाङ् याङ्ले वार्तालाप गर्थे र उनको अग्रसरतामा भएका वार्ता असफल भएका घटना विरलै छन्।
उनी पूर्व राष्ट्रपति हु जिनतावोका प्रिय पात्र हुन्। सन् २०१२ मै उनलाई स्थायी समिति सदस्यको दाबेदार मानिएको थियो। तर उनले धैर्य गरे। पार्टीको संरचनामा सन्तुलन समेत मिलाउनुपर्ने भएकाले राष्ट्रपति सीले हु जिनतावोका प्रिय पात्र वाङ् याङ्लाई स्थायी समिति सदस्य बनाउन लागेका छन्।
झाव लिझी

कसैका आँखामा नपरीकन आफ्नै तागतले शक्ति आर्जन गरेका नेता हुन्, झाव लिझी। प्रशासकीय विभागको जिम्मेवारी पाएका उनले कसैप्रति आग्रह र पूर्वाग्रह नराखी कार्यसम्पादन गरे। तीन दशकसम्म आफ्नै प्रदेश क्विङ्कहाइमा काम गरेका उनले सान्सी क्षेत्रको पार्टी प्रमुख हुने मौका पाए। सन् २०१२ मा उनी पार्टीको पोलिटब्युरो सदस्यमा रहे। कोही निकट नरहेका र प्रशासनमा अब्बल रहेकाले उनलाई सीले स्थायी समिति सदस्य बनाउन चाहेका छन्।
वाङ् क्विसाङ्

चिनियाँ भ्रष्टाचारीको सातो उडाएका नेता हुन्, वाङ् क्विसाङ्। राष्ट्रपति सीका निकै विश्वासपात्र उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयनमा ल्याएका थिए। पाँच वर्षको अवधिमा उनले १० लाख भ्रष्टाचारीलाई कारबाहीको दायरमा ल्याए। पूर्व उपप्रधानमन्त्री समेत रहेका उनी आर्थिक सुधार र औद्योगिक सुधारका ज्ञाता हुन्। चिनियाँ कम्युनिस्ट पार्टीमा ६८ वर्षमा अवकाश पाउने अनौपचारिक सहमति छ, विधानमा। तर, कतै उल्लेख छैन। त्यसैको फाइदा उठाउँदै सीले उनलाई फेरि स्थायी समिति सदस्यमा राख्ने भएका छन्।
६८ वर्षदेखि निरन्तर शक्तिमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समिति सदस्यमा महिलाले कहिल्यै स्थान पाएनन्। सीले पनि त्यो परम्परालाई निरन्तरता दिएका छन्।
नेपाल लाइभबाट