Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

इलामबाट नवयुग मात्रै राष्ट्रिय टोलीमा

इलामबाट नवयुग मात्रै राष्ट्रिय टोलीमा

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ ४ २०७८


इलामबाट नवयुग मात्रै राष्ट्रिय टोलीमा

इलाम । इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्वकप छनोटका खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीमा इलामका नवयुग श्रेष्ठले मात्र स्थान बनाएका छन् । थ्री नेसन्स कप उपाधि जित्न सफल टोलीबाट १३ खेलाडी परिवर्तन गर्दै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले घोषणा गरेको टोलीमा प्रारम्भिक सुचीमा परेको इलामका अन्य २ जना खेलाडीले स्थान बनाउन असफल रहे ।

अलमुताइरीले थ्री नेसन्स कप जित्दाका १० खेलाडीले मात्र राष्ट्रिय टोलीमा समेटे । प्रारम्भिक सुचीमा परेका इलामका दर्शन गुरुङ र विवेक बस्नेतले अन्तिम २३ मा स्थान बनाउन सकेनन् । फरवार्ड नवयुग श्रेष्ठ र मिडफिल्डर सन्तोष तामाङले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा ६ खेलाडी पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् ।

मिडफिल्डर कमल थापा, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ, आयुष घलान, मनिष डाँगी र गोलरक्षक विशाल सुनार पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । फरवार्ड आशिष लामा र सुमन लामासँगै मिडफिल्डर पुजन उपरकोटी पनि टोलीमा फर्किएका छन् । थ्री नेसन्स कपको टोलीबाट फरवार्डद्वय भरत खवास र दर्शन गुरुङ तथा डिफेन्डरद्वय रन्जित धिमाल र निशान खड्काले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।

यस्तै थ्री नेसन्स कप जित्दाका सदस्य रवी पासवान पनि अन्तिम २३ मा परेका छैनन् । यसबाहेक पहिलो पटक बन्द प्रशिक्षणमा परेका विवेक बस्नेत पनि टोलीबाट बाहिरिएका छन् । नितिन थापा, सेसेहाङ आङदेम्बे र अमित तामाङले पनि अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । इलामका छिरिङ गुरुङ अन्तिम ३२ समेत पर्न असफल रहे ।

राष्ट्रिय टोलीले मे २९ मा इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । त्यसपछि जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका बाँकी खेल खेल्न नेपाल कुवेत प्रस्थान गर्नेछ । नेपालले विश्वकप छनोट अन्तर्गत तीन खेल खेल्न बाँकी छ । नेपालले जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

नेपाल अहिले अंक तालिकामा ३ अंक जोड्दै चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ । समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन । अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान तथा कुवेत र जोर्डनको १०–१० अंक छ । नेपालले चौथो स्थानमा रहन सके एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।
राष्ट्रिय टोलीको २३ सदस्यीय अन्तिम टोली :
गोलरक्षक :
किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार
डिफेन्डर : अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास
मिडफिल्डर : एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा

प्रतिक्रिया
सम्बन्धित समाचार