इलाम । कोरोनाको जोखिम बढ्दै गएपछि इलामका स्थानीय तहका विद्यालयहरु बन्द हुन थालेका छन् । जिल्ला विपद व्यवस्थापन केन्द्र (डिसिएमसी) को बैठकले तिव्र रुपमा फैलिएको नयाँ भेरिएन्ट सहितको कोभिड–१९ बाट इलाम समेत जोखिममा रहेको भन्दै भौतिक रुपमा उपस्थित नहुन र नगर्न सवै स्थानीय तह, विद्यालय, शिक्षक, अभिभावक सहितका सरोकारवालासंग आग्रह गरेको छ । सोही अनुसार जिल्लाका १० वटै स्थानीय तहका विद्यालयहरुले प्रत्यक्ष शिक्षण नगराउने भएका हुन् ।
राष्ट्रिय स्तरको परिक्षा बाहेक अन्य परिक्षाहरु बैशाखसम्म सम्पन्न गरिसक्ने निर्णय भएपनि कोभिडको संक्रमण बढ्दै गएपछि कक्षा–८ को स्थानीय तह स्तरिय परिक्षा समेत अर्को सुचना नभएसम्मको लागि स्थगित गरिएको छ ।
डिसिएमसीले इलाम अस्पतालमा अक्सिजन सहित २० बेडको लेभल १ उपचार केन्द्र स्थापना गर्ने निर्णय गरे बमोजिम जनशक्ति र आवश्यक उपकरण सहित सञ्चालन योग्य अवस्थामा राख्न इलाम अस्पताललाई अनुरोध गर्ने निर्णय गरेको छ ।
जिल्ला सदरमुकाममा सञ्चालन भएको आइसोलेसन सेन्टर पुर्ववत अवस्थाका ल्याउनुका साथै स्थानीय तहहरुमा भएका आइसोलेसन सेन्टरहरुलाई संचालनमा ल्याउन अनुरोध गर्ने भएको छ । इलाम अस्पतालमा अक्सिजन प्लान्टर स्थापना गर्न प्रदेश सरकारबाट बजेट बिनियोजना भएपनि रोकिएको रकम निकासाका लागि डिसिएमसीले अनुरोध गर्ने निर्णय गरेको छ ।
इलाम जिल्लामा व्यपार, व्यवसाय, सार्वजनिक यातायात, सार्वजनिक निकाय, कार्यालयहरुमा जनस्वास्थ्यको मापदण्डलाई कडाईका साथ कार्यान्वयन गरिने भएको छ । नेपाल–भारत सिमामा पर्ने पशुपतिनगर नाकाबाट हुने आवागमनलाई थप व्यवस्थित गर्दै जाने र त्यसका लागि हाल सञ्चालनमा रहेका सिसि क्यामरालाई उपयोग गर्दै ज्वरो र मलेरिया, आरडीटी र व्यक्तिहरुको अभिलेखिकरणलाई निरन्तरता दिने काम जिल्ला प्रवेशद्धार जोरकलशमा समेत भएकाले यसलाई नियमित अनुगमन गर्ने डिसिएमसीले निर्णय गरेको छ ।
मानिसहरु भेला हुने स्थान र कार्यहरु नगर्न र नगराउने स्थानीय तह र सरोकारवालाहरुसंग अनुरोध गरिने भएको छ ।