इलाम । मेसौके ओलुमोउको निर्णायक गोलको मद्धतमा काठमाण्डौ रेजर्सले खुकुरी नेपाल सुपर कपमा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको पहिलो खेलमा अञ्जन विष्टको कप्तानीमा रहेको ललितपुर सिटी एफसीलाई १–० ले हराएको हो । खेलको ६६ औ मिनेटमा मेसौकेले गरेको गोल काठमाण्डौको लागि निर्णायक बन्यो ।
स्टेफेन समिरको प्रहार रिवाउन्ड भएर आएको अवसरलाई मेसौकेले जाली चुमाए । कोरोना महामारीका कारण खेल दर्शक बिना बन्द रंगशालामा आयोजना भएको थियो । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा सुरु भएको एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने लिग जेठ १ गतेसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही १ लाख तथा उत्कृष्ट युवा खेलाडीले पनि १ लाख रुपैया हात पार्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउने छन् । त्यस्तै विदेशी र ए समुह बाहेकका युवा खेलाडीले हरेक खेलमा राइजिङ प्लेयरको रुपमा १० हजार रुपैया पाउनेछन् ।